सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारद्वारा होटलमा निर्माण सम्पन्नको प्रमाणपत्र बनाएर रकम भुक्तानी

२०७६ असार २०, ०६:१९ कमल सावद

आज सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा भेटिएका बाजुराको एक मन्दिर निर्माण समितिका अध्यक्ष र सचिव भुक्तानीका लागि कागजपत्र तयार गर्दै थिए। उनीहरु दुवैजना काम सम्पन्न नभएको मन्दिरको भुक्तानी लिने जुक्तिका विषयमा सल्लाह गरिरहेका थिए।फिल्डमा काम नभएपनि कागजमा काम खर्चको पूर्ण विवरण बनाउन तल्लीन देखिन्थे। बिल, डोर हाजिर, उपभोक्ता समितिका निर्णयहरु र मन्दिर निर्माण भएका सामाग्रीहरुको भरपाई समेत उनीहरु मन्त्रालयकै प्राङगणमा बसेर बनाउँदै थिए। मन्दिर निर्माणको काम पूर्ण नभएपनि रकम भुत्तानीका लागि असार २० गते अन्तीम समय मन्त्रालयले दिएपछि उपभोक्ता समितिका अध्यक्षहरु हतार–हतार धनगढी आएका छन्।

कैलालीको जानकी गाँउपालिकाबाट भुक्तानीका लागि आएका मन्दिर निर्माण समितिका अध्यक्ष राजेन्द्र महतोले मन्त्रालयले काम सम्पन्न नभएपनि कागजी प्रक्रिया पु¥याएमा भु्क्तानी दिने भनेकाले निर्माण नसकेरै भुक्तानीका लागि आएको बताए। उनले मन्दिर निर्माणको काम भने बाँकी रहेको जनाए। प्रदेश सरकारको मन्दिरमा भएकोे लगानी सदुपयोग नभएको आरोप लागिरहेका बेला रकम भुत्तानीमा पनि बदमासी भएको हो। प्रदेशका नौ जिल्लाका उपभोक्ता समितिका अध्यक्ष तथा पदाधिकारीलाई धनगढी बोलाएर कागज मिलाउन प्रदेशको पर्यटन मन्त्रालयलै नै सहजीकरण गरिरहेको छ।

फिल्डमै गएर प्राविधिकले बनाउनुपर्ने निर्माण सम्पन्नताको प्रमाणपत्र समेत धनगढीका होटलमा बसेर तयार पारिएको छ। तर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी यज्ञमूत्ति खनालले आवश्यक कागजपत्र लिएर मात्र भुक्तानी दिइरहेको दावी गरे। उनले काम सम्पन्न नगरेकाहरुलाई भुक्तानी नदिईएको जिकिर समेत गरे।  मन्त्रालयले पर्यटन प्रवद्र्धनको नाममा चार सय बढि मन्दिर निर्माणका लागि विनियोजन गरेको बजेट मापदण्ड विपरित धमाधम भुक्तानी भईरहेको हो। भुक्तानीका लागि आवश्यक पर्ने कागजात समेत धनगढीकै होटलमा बसेर तयार भइरहेका छन्। अधिकासं मन्दिरको निर्माण अधुरै रहेपनि प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले मन्दिरका लागि विनियोजन गरिएको सम्पूर्ण बजेटको भुक्तानी दिईरहेको छ। मन्दिर निर्माणका लागि मात्रै ३० करोड बजेट विनियोजन गरेको प्रदेश सरकारले स्थलगत अनुगमन समेत नगरी भुक्तानी दिन थालेपछि करोडौँ बजेट अनियमितता भएको आशंका समेत गर्न थालिएको छ।    

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस