कैलालीको बुढीतोलामा पाँच सय मिटर सडक मर्मत हुँदै
धनगढी : कैलालीको बुढीतोलामा पाँच सय मिटर सडक मर्मत हुँदैछ। बर्सातको समयमा पहिरोले भत्काएको सडक मर्मत थालिएको हो।
सडक डिभिजन कार्यालय, महेन्द्रनगरले सात करोड ३८ लाख ७९ हजार चार सय ६८ रुपैयाँको लागतमा सडक मर्मतका लागि ठेक्का सम्झौता गरेको थियो। महाकाली राजमार्गको बुढीतोला क्षेत्रमा २ महिना भित्रमा सडक मर्मतको काम पूरा हुने छ। हालसम्म तीन करोड बढीको काम निर्माण कम्पनीले गरेको छ। बुढीतोलामा जमिन मुनिबाट पानीको मूल रहेकाले नयाँ प्रविधि अनुसार काम हुँदैछ। राजमार्गको माथि तिर इनारहरु निर्माण गरिएका छन्। पाँच वटा इनारहरूमा जमिन मुनिको पानी जम्मा गरिने छ। पाँच वटा इनारहरू एक अर्काेसँग जोडिएका छन्।
सडक डिभिजन कार्यालय, महेन्द्रनगरका इन्जिनियर चित्र चौलागाईंले २ महिना भित्रमा सडक मर्मतको काम सकिने बताए। तर, चालु आर्थिक वर्षमा नै सडक कालोपत्रको योजना नरहेको उनले बताएका छन्। उनले भने, साढे सात करोड बढीको काम हो। तीन करोड बढी भुक्तानी भएको छ। मुख्य कामहरू भएका छन्। २ महिना भित्रमा काम पूरा हुन्छ। भूमिगत पानीका लागि नयाँ प्रविधि प्रयोग गरेका छौ।’ १६–२० मिटर गहिरो पाँच वटा इनारहरू निर्माण गरिएका हुन। भूमिगत पानी सडकमा आउन नदिनका लागि इनार बनाइएको हो। सडकमाथिको पानी निसासका लागि २ सय वटा पाइप पनि जडान गरिएका छन। सडकको तलबाट नयाँ प्रविधिको पर्खालहरू निर्माण गरिएको छ। चालु आर्थिक वर्षमा ग्राभेल निर्माण सम्मको काम पूरा हुने छ। आगामी आर्थिक वर्षमा सडक कालोपत्रका लागि नया ठेक्का सम्झौता गरिने उनले बताए।
महाकाली राजमार्ग सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्र सडक हो। बुढीतोला क्षेत्रमा जमिन भास्सिएपछि तराइसँगको सडक सम्पर्क गत बर्सातमा टुटेको थियो। बर्सातको समयमा एक हप्ता बढी समयसम्म सडक बन्द भएको थियो। पहाडी जिल्लाका लागि वैकल्पिक सडकहरूको काम पनि निर्माण पूरा भएको छैन। दैजी–जोगबुढा सडक र धनगढी–दीपायल द्रुतमार्गलाई वैकल्पिक सडकका रूपमा हेरिएको छ। तर, निर्माणको गति न्यून छ।