कार्यसम्पादन मूल्यांकनमा डडेल्धुराको अमरगढी देशभरमै सर्वोत्कृष्ट

डडेल्धुराः स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा डडेल्धुराको अमरगढी देशभरमै सर्वोत्कृष्ट बनेको छ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा डडेल्धुराको अमरगढी नगरपालिका देशभरबाटै सर्वोत्कृष्ट स्थानीय तह भएको हो। अमरगढी नगरपालिकाले ८१ दशमलव ७ ल्याएको आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। यस्तै उत्कृष्ट पाँच स्थानीय तहमा अमरगढीसँगै इलामको सूर्योदय नगरपालिका, अर्घाखाँचीको सन्धीखर्क नगरपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका र आँधीखोला गाउँपालिका रहेका छन्।
इलामको सूर्योदय नगरपालिकाले ८० दशमलव २ अंक ल्याएको छ भने अर्घाखाँचीको सन्धीखर्क नगरपालिकाले ८० दशमलव १, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ७८ दशमलव २, स्याङ्जाको आँधिखोला गाउँपालिकाले ७८ अंक ल्याएको छ।
स्थानीय तहको शिक्षा, स्वास्थ्य, आन्तरिक आय, पुँजीगत खर्चको अवस्था, कूल विनियोजन रकमको अवस्था, संकलित करबाट प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने रकम जम्मा गरे नगरेको अवस्था, पूर्ण खोप कार्यान्वयन, गर्भवती महिलाको जाँचको अवस्था लगायतका सूचकहरुमा आयोगले मूल्यांकन गर्ने व्यवस्था छ।



