डोटीको बडिकेदार धामसम्मको बाटोमा २७ क्विन्टल रेलिङ्ग लगाइदै

धनगढी : डोटीको बडिकेदार धाममा रेलिङ्ग, पदमार्गमा भ्याङ्ग, सडकको नाली, प्रशासनिक भवन, प्रतीक्षालय तथा शौचालयहरू निर्माण गर्न ६ करोड ८५ लाखमा २०७९ सालमा ठेक्का सम्झौता भएको थियो। नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागमार्फत बडिकेदार धाममा भौतिक संरचनाहरू निर्माणको ठेक्का सम्झौता भएको हो।
कल्पवृक्ष बिल्डस्ले बडिकेदार धाम क्षेत्रमा पूर्वाधार निर्माणको काम गर्दै छ। कल्पवृक्षका प्रतिनिधि सन्तोष ढुङ्गानाले एक महिना भित्रमा काम सकिने बताए। उनले भने, ‘हामी अन्तिम चरणमा पुगेका छौ। एक महिनामा काम सक्छौ। डोटीबाट फर्किन्छौ।’
बडिकेदार गाउँपालिकाले निर्माण गरेको सडकमा निर्माण कम्पनीले २ सय मिटर नाली निर्माणको काम गर्दै छ। बडिकेदार धामसम्म २४ हजार किलोग्राम रेलिङ्गको कामसमेत जारी रहेको छ। निर्माण कम्पनीले २०८१ कात्तिकसम्म भौतिक पूर्वाधार निर्माणको काम पूरा गर्नुपर्ने हो। तर, माघ अन्तिमसम्म पनि काम पूरा भएको छैन। फागुन अन्तिमसम्म पूर्वाधार निर्माणको सबै कामहरू पूरा हुने दाबी निर्माण कम्पनीको छ।
बहुवर्षीय ठेक्कामार्फत भौतिक संरचनाहरू निर्माणको काम हुँदै आएको छ। नौ करोड बडिकेदार धाम क्षेत्रको विकासका लागि सङ्घीय सरकारबाट विनियोजन गरिएकोमा ६ करोड ८५ लाखमा पर्यटन विभागले ठेक्का सम्झौता गरेको हो। ६ करोड ८५ लाखका भौतिक संरचनाहरू निर्माण हुँदैछन्।
डोटीको बडिकेदार धामसम्मको बाटोमा रेलिङ्ग लगाउने काम अन्तिम चरणमा पुगेको छ। जिल्लाको बडिकेदार गाउँपालिका–५ मा पर्ने धाम क्षेत्रको बाटोमा सुरक्षाका लागि रेलिङ्ग लगाउने काम हुँदैछ।
पर्यटन विभागबाट ६ करोड ८५ लाखका संरचनाहरू धाम क्षेत्रमा निर्माण हुँदैछन्। धाम क्षेत्रको काम एक महिना भित्रमा पूरा गर्ने निर्माण कम्पनीको दाबी रहेको छ। फागुन महिना भित्रमा काम पूरा गरिएने भएको हो।



