सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्घटनाको जोखिम बढेपछि झुलाघाटमा सडक चौडा पारिँदै 

२०८१ माघ २७, ११:५१ खबर संवाददाता

बैतडीः दुर्घटनाको जोखिम बढेपछि झुलाघाटमा सडक चौडा पार्ने कार्य भइरहेको छ।

मध्यपहाडी लोकमार्गको अन्तिम विन्दुका रूपमा रहेको झुलाघाट सडक चौडा पारिन थालिएको हो। नेपाल–भारत सीमा क्षेत्रसमेत रहेको दशरथ चन्द नगरपालिका–८ को झुलाघाटमा पटक पटक दुर्घटना हुन थालेपछि २५० मिटर सडकखण्ड चौडा पार्ने कार्य भइरहेको सडक डिभिजन कार्यालय पाटन, बैतडीका सूचना अधिकारी लिलाधर भट्टले जानकारी दिए। झुलाघाट नाका भारतसँग जोडिएको नाका हो।

यो नाकाबाट बैतडीलगायत सुदूरपश्चिम र कर्णालीका सर्वसाधारण नेपाल–भारत आवतजावत गर्ने गर्छन्। भारतबाट मजदुरी गरेर फर्कने बेला गत भदौमा यही सडकबाट चिप्लेर बैतडीको पुर्चौंडीका एक मजुदुरको महाकाली नदीमा खसेर

मृत्यु भएको थियो। केही बर्ष अगाडि यही सडकबाट बोलेरो जि महाकालीमा खसेको थियो। सीमासँग जोडिएको सडक साँघुरो हुँदा बेला–बेला दुर्घटना हुन थालेपछि सडकलाई स्तरोन्नती गर्ने कार्य भइरहेको सूचना अधिकारी  भट्टले बताए। 
जय माँ भगवती निर्माण सेवाले ६५ लाखको लागतमा ठेक्का प्रक्रियाद्वारा सडक चौडा पार्ने कार्य गरिरहेको सडक डिभिजन कार्यालय पाटन, बैतडीका प्रमुख लक्ष्मणदत्त जोशीले बताए।

झुलाघाटको यातायात बिसौनीदेखि पिपल चौतारासम्म २५० मिटर सडकलाई ७ मिटर चौडा पार्ने काम भइरहेको छ।

कमेन्ट लोड गर्नुस