धनगढीको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणको काम धमाधम हुँदै

धनगढी : वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण गर्न सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई, धनगढीले ८ करोड ६२ लाख ५० हजार सात सय नौ रुपैयाँमा ठेक्का सम्झौता गर्यो।
नेशनल/पवन जेभीसँग २०८१ असार १७ गते वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणका लागि सम्झौता गरिएको हो। विरोधका कारण रोकिएको उद्यानको काम फेरि सुरु भएको छ। धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दीजराज भट्टले उद्यान निर्माणको काम धमाधम हुन थालेको बताए। उनले भने, ‘काम सुरु छ। अहिले काम हुँदैछ। सहरी विकासले ठेक्का गर्ने हो।’
धनगढी पार्कका नाउले परिचित वीरेन्द्र–ऐश्वर्य उद्यानलाई आधुनिक तरिकाले निर्माण गर्न काम थालिएको हो। सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई धनगढीले पहिलो चरणमा व्यापारिक सटरहरू निर्माण गर्दै छ। उद्यानको पूर्वी क्षेत र दक्षिणी क्षेत्रमा काम हुँदैछ। वीरेन्द्र–ऐश्वर्य उद्यानसँगै धनगढीमा एक हजार दुई सय ५० मिटर सडक समेत निर्माण गर्न सम्झौता भएको छ। निर्माण कम्पनीले २०८३ बैशाख १६ गतेसम्म वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणको काम पूरा गर्ने छ। भट्टले पसलहरूको काम थालिएको बताए। उनले भने, ‘पूर्वी क्षेत्र र दक्षिण क्षेत्रको काम हुँदैछ।’
धनगढीको मुख्य बजारमा रहेको उद्यान निर्माण गर्न धनगढी उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पारेको थियो। उपमहानगरपालिकाले रात्रिकालीन बजारसहितको उद्यान निर्माणका लागि डिपीआर तयार पारेको हो। तर, हाल पार्क क्षेत्रमा बालबालिकाका लागि क्षेत्र र खेलौना, वाटर फाउन्टेन, रेस्टुरेन्ट, कार्यक्रम सञ्चालन गर्न हल, स्वीमीङ्ग पुल, जेष्ठ नागरिकले आराम गर्ने स्थान, युवाहरूका लागि सांस्कृतिक क्षेत्र, किशोर–किशोरीका प्रतिभाका लागि कार्यक्रम स्थल र उद्यानको बाहिरी क्षेत्रमा सटरहरू निर्माणको काम थालिएको हो।
धनगढी उपमहानगरपालिकाको ३५ करोडको योजना भएपछि पहिलो चरणमा सहरी विकासले ८ करोड ६२ लाखका संरचनाहरू निर्माण गर्ने भएको हो। उद्यानमा पाँच सय युवाले सुरुवात व्यवसाय (स्र्टाट अफ बिजिनेस) गरेर आय आर्जन गर्न सक्ने बनाउने धनगढी उपमहानगरपालिकाको योजना छ।



