सुदूर नेपाललाई विश्वसँग जोड्दै

ऐश्वर्यका प्रअ प्रेमनिधि ओझा सेवा निवृत्ति हुँदै, अबको प्रधानाध्यापक को?

२०८१ माघ २५, ०५:२३ खबर संवाददाता

धनगढीः धनगढीको सबैभन्दा पुरानो र ठुलो संस्थागत विद्यालय ऐश्वर्य विद्या निकेतनका प्रधानाध्यापक प्रेमनिधि ओझा आगामी माघ २९ गतेबाट सेवा निवृत्ति हुँदै छन्।

२०३३ सालमा स्थापना भएको सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था ऐश्वर्य विद्या निकेतनको १० औँ प्रधानाध्यापकको जिम्मेवारी ओझाले २०७६ बैशाखाबाट पाएका थिए।

ओझा २०५२ सालमा ऐश्वर्य विद्या निकेतनको अङ्ग्रेजी शिक्षकको रूपमा सेवा प्रवेश गरेका हुन्। लामो समयसम्म सहायक प्रधानाध्यापक भएर सेवा गरेका ओझालाई विद्यालयले धर्मदेव भट्टका उत्तराधिकारीका रूपमा प्रधानाध्यापकको जिम्मेवारी मिलेको हो।

ऐश्वर्यमा हाल पूर्व प्राथमिकदेखि कक्षा १२ सम्म तीन हजार ६९६ जना विद्यार्थी अध्ययनरत छन्।

के छ प्रधानाध्यापक नियुक्तिको व्यवस्था?

सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित ऐश्वर्य विद्या निकेतनले विद्यालय सञ्चालनको विनियमावली बनाएको छ। विद्यालयको विनियम, २०७८ मा प्रधानाध्यापक नियुक्ति सम्बन्धी व्यवस्था छ।

विद्यालयको विनियमावलीको परिच्छेद–३ को (९) मा प्राचार्यको नियुक्ति र योग्यता सम्बन्धी मापदण्ड निर्धारण गरिएको छ। विनियममा तोकिएको परिधिभित्र रही व्यवस्थापन समितिले प्राचार्यको नियुक्ति गर्ने व्यवस्था छ।

प्राचार्य नियुक्तिका लागि आवश्यक ठानेमा विद्यालय व्यवस्थापन समितिले एक छुट्‍टै उपसमिति गठन गर्न सक्ने प्रावधान छ।

विनियम (९) को (घ) मा प्राचार्य छनोटको आधार मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्छ भने कम्तीमा माध्यमिक तहमा १० वर्ष काम गरेको स्थायी शिक्षकहरू मध्येबाट विद्यालय विकासको योजना माग गरि वरिष्ठ र कार्य दक्षताका आधारमा प्राचार्यको नियुक्ति गरिने प्रावधान राखिएको छ।

विनियम (९) को (च) मा प्राचार्यको कार्य अवधि चार वर्ष हुनेछ भने कार्यसम्पादन मूल्याङ्कनको आधारमा व्यवस्थापन समितिले आवश्यकता अनुसार एक कार्यकाल म्याद थप गर्न सक्ने व्यवस्था छ।

विद्यालय व्यवस्थापन समितिले भने प्रधानाध्यापक ओझाको उत्तराधिकारी को हुने भन्ने टुङ्गो लगाएको छैन।

करिब चार हजार विद्यार्थी अध्ययनरत शैक्षिक संस्थाको बागडोर सम्हाल्ने प्रधानाध्यापकको नियुक्ति विनियमावलीको प्रावधान अनुसार छनोट हुन्छ या हुँदैन भन्ने कुरा हेर्न भने बाँकी छ।

 

कमेन्ट लोड गर्नुस