सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बर्दगोरियामा निःशुल्क महाप्रस्थान यान, १० हजार किरिया खर्च

२०८१ माघ २५, ०३:५५ खबर संवाददाता

धनगढी : कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क महाप्रस्थान यान (शव बाहान) सञ्चालनमा ल्याएको छ।

नागरिकको निधन भएपछि आर्यघाटसम्म लैजान गाउँपालिकाले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएको हो।

गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले विपन्न नागरिकहरूका लागि महाप्रस्थान यानको सेवा निकै प्रभावकारी हुने बताए। उनले भने, ‘मृत्यु सत्य हो। हामी पनि एक दिन जानु नै छ। संसारमा रहँदा सम्म दुःख गरेको र पाएको मानिसले मृत्यु परन्तु पनि दुखै पाएको अवस्था थियो। असहज रूपमा ट्याक्टरमा, कतिपय त त्यसैमा दाउरा पनि बोकेको देखेको छु। बाहान नहुँदा शवले दुःख पाउने, किरिया बस्ने र अन्य आफन्तले अनावश्यक दुःख पाउने, शव यात्रा गर्न गाह्रो हुने अवस्था थियो। यस्ता समस्यालाई समाधान गर्न हामीले पालिकाभरिका लागी निःशुल्क रूपमा शव बाहान सञ्चालन गरेका हौ।’

दश हजार किरिया खर्च

बर्दगोरिया गाउँपालिकाले महाप्रस्थान यान (शव बाहान) सञ्चालन गरे सँगै मृतकको काज किरिया खर्च बापत १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ। अति विपन्न परिवारका आफन्तले काज किरिया गर्न समेत गाह्रो हुने अवस्थाको अन्त्य गर्न गाउँ सरकारले यो रकम उपलब्ध गराउने जनाएको छ ।

सरकार भनेको जनताको दुःखको सारथि बन्नु पर्छ भन्ने हाम्रो सोच छ। पालिका अध्यक्ष कुँवरले किरिया खर्च बापत दश हजार रुपैयाँ दिने निर्णय गरिएको बताए। कार्यविधि लगायतका अन्य प्राविधिक कुराहरू चाँडो भन्दा चाँडो अघि बढाएर जनतालाई सेवा दिन लागि परेको उनले बताए।

निःशुल्क शव बाहान र किरिया खर्च बापत दश हजार पनि पाउने भएपछि आफन्त गुमाएको शोकमा डुबेका परिवारलाई केही मलहमको काम गर्ने अपेक्षा गरिएको छ।

 

कमेन्ट लोड गर्नुस