नेपाल वन निगमले धनगढी र महेन्द्रनगरबाट चिरानको काठ बिक्री गर्दै

धनगढी : नेपाल वन निगम लिमिटेडले धनगढी र महेन्द्रनगरबाट चिरानको काठ बिक्री गर्न थालेको छ।
धनगढी र महेन्द्रनगरमा रहेको बिक्री डिपोबाट यो वर्ष निगम ३० हजार क्यूफिट काठ बिक्री गर्ने भएको हो। एक महिनादेखि धनगढी र महेन्द्रनगरमा रहेको वन निगमको बिक्री डिपोबाट सर्वसाधारणले साल तथा सिसमको चिरान काठ बिक्री गर्न सुरु गरेको हो। डिपोबाट सर्वसाधारणले भ्याटसहित चार हजार ३५० रुपैयाँ प्रति क्यूफिटका दरले काठ बिक्री भइरहेको निगमका धनगढी कार्यालय प्रमुख रामचन्द्र चौधरीले बताए। 'धनगढी र महेन्द्रनगर बिक्री डिपोबाट यो वर्ष ३० हजार क्यूफिट साल र सिसमको चिरान गरिएको काठ बिक्री गरिने भएको छ,' उनले भने, 'एक महिनादेखि नेपाल वन निगमले धनगढी र महेन्द्रनगर बिक्री डिपोबाट सर्वसाधारणलाई काठ बिक्री गर्न थालेको हो। सर्वसाधारणले पुरानो घर मर्मत गर्न तथा नयाँ घर निर्माण गर्न वन निगमबाट काठ खरिद गर्न पाउने छन्।'
कैलाली र कञ्चनपुरका उपभोक्ताले पुरानो घर मर्मत गर्न २५ क्यूफिट काठ खरिद गर्न पाउने चौधरीले बताए। नयाँ घरका लागि भने एक सय ५० क्यूफिट काठ खरिद गर्न सकिनेछ। नयाँ घर लगाउने व्यक्तिले लालपुर्जा, नागरिकताको प्रमाणपत्र र घर नक्सा पास गरेको प्रमाणका आधारमा आवश्यक पर्ने काठ खरिद गर्न पाउने प्रमुख चौधरीले बताए। 'गेटास्थित सःमिलमा अहिले साल र सिसमको काठ धमाधम चिर्ने काम भइरहेको छ।
मिलबाट धनगढी र महेन्द्रनगर डिपोमा काठ पुगाउने र त्यहाँबाट उपभोक्तालाई वितरण गरिँदै आएको छ,' उनले भने, 'निगमले सालको काठ भ्याटसहित चार हजार ३५० प्रति क्यूफिटका दरले बिक्री गरिरहेको छ। घर निर्माण गर्न चाहने तथा नयाँ घर निर्माण गर्न लागेका उपभोक्तालाई आवश्यक काठ खरिद गर्न धनगढी र महेन्द्रनगरमा रहेको वन निगमको बिक्री डिपोमा सम्पर्क गर्न सक्नेछन्। हामीले यी दुई ठाउँबाट काठ उपलब्ध गराउने हो।'
वन निगमले झ्याल, ढोका बनाउन मिल्ने स्तरीय काठ उपभोक्ताले सजिलै खरिद गर्न पाउने जनाएको छ। सुदूरपश्चिमका सबै जिल्लाका उपभोक्ताले लालपुर्जा र घर नक्सा पास गरेको आधारमा काठ खरिद गर्ने पाउने छन्।



