सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा वर्षमान पुनले गरे सशस्त्र प्रहरीको बीओपीको निरीक्षण

२०८१ माघ २४, ०१:१६ खबर संवाददाता

डेल्धुराः नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट बीओपीको निरीक्षण भ्रमण गरेका छन्।

उनले नेपाल–भारत सीमास्थित डडेल्धुराको पर्शुराम नगरपालिका–५, परी गाउँमा रहेको सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोस्ट बीओपीको निरीक्षण भ्रमण गरेका हुन्। निरीक्षण क्रममा पुनले सीमित साधन स्रोतमा पनि सशस्त्र प्रहरीले सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणमा प्रशंसनीय काम गरेको बताए। उनले सशस्त्र प्रहरीलाई थप साधन स्रोतसम्पन्न बनाउन आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता जनाए।

परिगाउँबाट नेपाली सर्वसाधारण महाकाली नदीमा डुङ्गा चढेर सीमावर्ती भारतीय बजार टनकपुरमा दैनिकजसो उपभोग्य सामान खरिद, औषधि उपचार तथा रोजगारीका लागि जाने गर्दछन्। डडेल्धुरास्थित सशस्त्र प्रहरीको ५२ नम्बर गुल्मअन्तर्गत नेपाल–भारत सीमामा ५वटा बीओपी छन्।
 

कमेन्ट लोड गर्नुस