सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारद्धारा तालिम गोष्ठी र तलब भत्तामा १५ दिनमा आधा अर्ब खर्च

२०७६ असार १७, १२:०० जनक विष्ट

असारे विकासको चटारो लागेको सुदूरपश्चिम सरकार र मातहतका निकायलाई चालु तर्फको बजेट खर्च गर्न पनि भ्याई नभ्याई भएको छ। आर्थिक वर्ष सकिन १५ दिन मात्र बाँकी रहेका बेला प्रदेश सरकार र मातहतका निकायले औपचारिक कार्यक्रम, तालिम, विभिन्न गोष्ठी तथा तलबभत्तामा दैनिक करोडौँका हिसाबले खर्च गरिरहेका छन्। प्रदेश सरकारले चालु खर्चतर्फ  १२ अर्ब भन्दा बढि बजेट विनीयोजन गरेकोमा असार १५ गते सम्म ३३ प्रतिशत अथात् चार अर्ब १५ करोड खर्च गरेको छ।

जसमा बैशाख महिनामा ३८ करोड खर्च गरिएकोमा जेठमा एक अर्ब १४ लााख बजेट खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीका अनुसार प्रदेश सरकार र मातहतका निकायले असारका १५ दिनमा मात्र चालु तर्फ विभिन्न तालिम, गोष्ठी, औपचारिक सभा समारोह र तलब भत्तामा समेत गरी आधा अर्ब बढि अथात् ५० करोड ४६ लाख बजेट खर्च गरेका छन्।

प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीका लेखा नियन्त्रक बासुदेवी जोशीले प्रदेश सरकारले असार १ गतेदेखि १५ गते सम्म चालुर्फको ५० करोड ४६ लाख बजेट खर्च भएको बताए। प्रदेश सरकार र मातहतका निकायले चालु तर्फको बजेट खर्च गर्नकै लागि दैनिक रुपमा औपचारिक कार्यक्रम, विभिन्न सभा समारोह, तालिम गोष्ठीको आयोजना गरिरहेका छन्।

चालु तर्फको नियमित कार्यक्रम पनि आर्थिक वर्षको अन्तमा आएर कार्यान्वयन गर्दा विकास निर्माण देखि लिएर अन्य सेवामुलक काम पनि प्रभावित भईरहेका छन्। तालिम गोष्ठीकै कारण पहाडी जिल्लामा कार्यरत कर्मचारीहरु पनि अहिले धनगढी केन्द्रीत भएका छन्। चालु खर्चमा शिक्षा, स्वास्थ्य, कृषि लगायतका छोटा तथा लामा गरी विभिन्न किसिमका कार्यक्रम हुने र सम्बन्धीत निकायले आर्थिक वर्षको अन्तमा आएर कार्यान्वयनमा लैजाने गरेका कारण खर्चको अनुपात बढि देखिएको प्रदेश लेखा नियन्त्रण जोशी बताउछन्।

प्रदेश र संघिय सरकार मातहतका निकायले आर्थिक वर्षको अन्तमा आएर चालु बजेट खर्च गरिरहेकै कारण अहिले धनगढीका होटल तथा रेष्टुरा भरिभाउ भएका छन् भने कर्मचारीहरुलाई भत्ता बुझ्न भ्याई नभ्याई भएको बताइदै आएको छ। तर करोडौँ बजेट खर्च गर्दै हतार हतारमा सम्पन्न गरिने कार्यक्रमले लक्षित वर्गलाई फाईदा भने नपुग्ने देखिएको छ। 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस