सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा चिराकीलाई साइकल वितरण

२०८१ माघ २३, ०८:०७ खबर संवाददाता

टीकापुरः टीकापुर नगरपालिका–७ ले चिराकीलाई साइकल वितरण गरेको छ।

वडाको आव २०८१/८२ को बजेटबाट १२ जना चिराकीलाई प्रतिव्यक्ति १० हजार बराबरको साइकल वितरण गरेको हो। बडघर/भलमनसा प्रणालीमा आवश्यक परेको बेला गाउँलेलाई सूचना जारी गर्न चिराकीको व्यवस्था गरिएको छ। चिराकीले सार्वजनिक काम, भेला, बैठक हुनुपर्ने, खोपलगायतका अभियानमा सहभागी हुनुपर्ने सूचना र कर्णाली नदीमा बाढी बढ्न थालेको सूचना घर घरै पु¥याउनु पर्छ।

टीकापुर नगरपालिका–७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले समाजमा हुने हरेक गतिविधि बडघरमार्फत गर्नुपर्ने र बडघरले समाज जुटाउन चिराकी खटाउने भएकाले घर-घर पुग्न सहयोग पुगोस् भनेर साइकल वितरण गरिएको बताए। करिब एक हजार पाँच सय परिवार बसोबास गर्ने वडामा १५ वटा बडघर र १२ वटा चिराकी छन्।

दिव्यपुर टोलकी चिराकी सावित्री चौधरीले ९० वटा जति घरमा पैदल हिँडेर सूचना पु¥याउन घण्टौँ लाग्ने गरेको तर साइकलमा भए २५ मिनेटमा जान सकिने बताईन्। सूचना पु¥याएबापत गाउँलेबाट उठाएको धान पाउने गरेका चिराकीहरू बडघर/भलमनसाका सहयोगी र सूचना प्रसारक हुन्।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले भने, 'गाउँमा हुने कार्यक्रममा सहभागिता जुटाउन सूचनाको संवाहकका रूपमा रहेका चिराकीले साइकल पाएपछि काममा सहज हुने छ। टीकापुरमा बडघर ऐन पारित भइसकेकाले बडघर प्रथालाई व्यवस्थित गर्न हरेक वडामा बडघर भवन बन्ने छन्।'  

कमेन्ट लोड गर्नुस