धनगढी उप–महानगरपालिकाद्धारा ११ महिनामा १४ किलोमिटर मात्रै सडक कालोपत्रे
धनगढी उप–महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १४ किलोमिटर सडक मात्रै कालोपत्रे गरेको छ। गत बर्ष २७ किलोमिटर सडक कालोपत्रेको लक्ष्य राखेर १९ किलोमिटर मात्रै कालोपत्रे गरेको उप–महानगरपालिकाले चालु बर्षका ११ महिनामा लक्ष्यको आधा भन्दा कम १४ किलोमिटर मात्रै कालोपत्रे गरेको हो। भौतिक पुर्वाधारको क्षेत्रमा ठुलो वजेट खर्च गरेको दावी गरिरहेको उप–महानगरपालिकाले १४ किलोमिटर कालोपत्रे र ४७ किलोमिटर सडकमा मात्रै ग्रावेल गरेको हो।
उप–महानगरपालिकाका ईन्जिनियर द्धिजराज भट्टले जेठ मसान्त सम्मको प्रगती सन्तोषजनक नभएको स्विकार गरे। उनले आर्थिक बर्षको अन्त्यमा मात्रै उप–महानगरपालिकाको यकिन प्रगती थाहा हुने बताए।
१४ किलोमिटर सडक कालोपत्रे गर्न उप–महानगरपालिकाले ८ करोड खर्च गरेको छ। तर पहुचको भरमा योजना छनोट गरि साना सडकहरुलाई कालोपत्रे गरेका कारण चलनचल्तीका धेरै सडकको अवस्था भने निकै दयनिय रहेको धनगढी उप–महागरपालिका वडा नम्वर ७ का दीपक बाहराले बताए।
‘खर्च बढि देखिएपनि उपलब्धी देखिएको छैन्,’ उनले भने, ‘चलनचल्तीका कुनैपनि सडकको अवस्था सुधार नभएपछि कुन सडक कालोपत्रे भयो भन्ने विषयमा पनि जानकारी हुन सकेको छैन्।’ जनप्रतिनिधी आउनु भन्दा अगाडी एक वडामा १५ देखि २० लाख सम्मको बजेट जाने गरेको थियो। तर अहिले जनप्रतिनिधी आएपछि एक वडामा न्यूनतम एक करोडको हाराहारीमा बजेट जाने गर्छ। तर विगतको तुलनामा बजेट ५ गुणाले बढेपनि विकास निर्माणको प्रगती भने आपेक्षाकृत रुपमा हुन सकेको छैन।