विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसार क्षेत्रको संरक्षणमा बेवास्ता

धनगढी : विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसार क्षेत्रको संरक्षणमा बेवास्ता गरिएको छ। मानवीय गतिविधिका कारण ताल क्षेत्र पुरिदै छन्।
प्राकृतिक ताल पुरेर मैदान तथा संरचनाहरू निर्माण गरिएका छन। तर, सुदूरपश्चिमको एक मात्र विश्व रामसार क्षेत्रमा सूचीकृत सिमसार क्षेत्रको संरक्षणका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले बेवास्ता गरेका हुन। प्रदेश र स्थानीय सरकारले सङ्घीय वन तथा वातावरण मन्त्रालय मातहतको वन तथा भू–संरक्षण विभागले संरक्षण गर्ने भन्दै बजेट तथा कार्यक्रम राखेको छैन। वन तथा भू–संरक्षण विभागको चालु आर्थिक वर्षमा सिमसार संरक्षणका लागि कुनै कार्यक्रम छैन।
वन तथा भू–संरक्षण विभागका अधिकृत सुमना देवकोटाले चालु आर्थिक वर्षमा घोडाघोडी सिमसार क्षेत्रका लागि कुनै पनि कार्यक्रम नभएको बताइन। उनले भनिन, ‘स्थानीय पालिकाहरू छन। डिभिजन वन कार्यालयहरू छन। हामीसँग कुनै कार्यक्रम छैनन। अध्ययनको लागि कार्यक्रम बनाउछौ। आगामी आर्थिक वर्षमा कार्यक्रम बनाउछौ।’
कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी ताल क्षेत्र २ हजार ५ सय ६३ हेक्टरमा फैलिएको छ। घोडाघोडी ताल विश्व रामसार क्षेत्रमा सूचीकृत प्राकृतिक ताल हो। तर, सो ताल क्षेत्रमा रहेका तालहरूमध्ये टेडी तालमा फुटबल मैदान निर्माण गरिएको छ। घोडाघोडी सिमसार क्षेत्रमा मानवबस्ती र भौतिक संरचना निर्माणका कामहरू हुँदै आएका छन्। तालहरूको अस्तित्व नै सङ्कटमा रहेका बेला पनि वन तथा भू–संरक्षण विभागले बेवास्ता गरेको हो। घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडकबहादुर रावतले नगरपालिकाबाट योजना नरहेको बताए। उनले भने, ‘नगरपालिकाबाट कार्यक्रम छैन। बजेट छ। तर, तालका लागि भन्दै विभाजन गरेका छैनौ। अब, गर्ने हो।’ घोडाघोडी नगरपालिकाको ताल क्षेत्रमा कुनै योजना नभएको हो।
नेपाल सरकारको रामसार क्षेत्रको घोषणा र व्यवस्थापन मार्ग दर्शनमा नेपालमा १० वटा रामसार क्षेत्रहरू समावेश गरिएका छन्। घोडाघोडी ताल २००३ मा रामसार सूचिमा सूचीकृत भएको हो। घोडाघोडी तालको कूल क्षेत्रफल २ हजार पाँच सय ६३ हेक्टर छ। ताल क्षेत्रको संरक्षणमा बेवास्ता गरिएका बेला पर्यटन विभागले पदमार्ग निर्माण गर्दै छ। चालु आर्थिक वर्षमा पदमार्ग निर्माणको काम जारी रहेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले पदमार्ग निर्माणका लागि ठेक्का सम्झौता गरेको हो। विभागले ६० लाखको पदमार्ग निर्माण गर्दैछ।
रामसार सूचीमा सूचीकृत हुँदा घोडाघोडी क्षेत्रमा २० वटा तालहरू थिए। ठूला तर, कम गहिरो तालसमेत रामसार सूचीमा सूचीकृत हुँदा थिए। सङ्कटापन्न प्रजातिहरू जस्तै कछुवा, ओत, गोही, चरा हाँस र अन्य स्तनधारी जीवहरू घोडाघोडीमा छन। तालमा चार सय ५० प्रजाति वनस्पति, २९ प्रजाति माछा, ३२ प्रजाति पुतली, एक प्रजाति गोही, ७ प्रजाति सरीसृप, ३९६ प्रजाति रैथाने र घुमन्ते चराहरू उल्लेख गरिएको छ। घोडाघोडीमा जङ्गली धान, हरिहाँस र मगरगोही घोडाघोडी तालको सूचक प्रजातिका रूपमा छन्।
