सुदूरपश्चिमका उद्योगको उत्पादन क्षमता घट्दै

धनगढीः सुदूरपश्चिममा विभिन्न प्रकृतिका उद्योगको उत्पादनको अवस्था अध्ययन गरिएको छ।
प्रदेशभित्र सञ्चालित विभिन्न १२ प्रकृतिका उद्योगको उत्पादन क्षमता लगायतको विषयमा अध्ययन गरिएको हो।
सुदूरपश्चिममा उत्पादनमूलक उद्योगको सङ्ख्या बढ्न नसकेको अवस्थामा भएका उद्योग पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन्। सुदूरपश्चिममा ५ करोडदेखि साढे तीन अर्ब लगानी भएका उद्योग सञ्चालनमा छन्। तर, अधिकांश उद्योगले आफ्नो उत्पादन बढाउन सकेका छैनन्।
उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थदेखि दक्ष जनशक्ति अभावका कारण कारोबार बढ्न नसकेको सञ्चालकहरूले बताएका छन्। सुदूरपश्चिममा मुख्यगरी तोरीको तेल, चामल, गहुँको पिठो, चिनी, रोजिन र साबुन उद्योग सञ्चालनमा छन्। चिनी, इँटा र क्रंकिट उद्योगको अधिकतम क्षमता उपयोग भएको पाइएको छ भने धेरैजसो उद्योग अझै पूर्ण क्षमतामा चल्न सकेका छैनन्।
तेल, चामल, गहुँको पिठो र साबुन उत्पादन गर्ने उद्योगको औसत क्षमता उपभोग भएको दाबी गरिए पनि रोजिन उत्पादन गर्ने उद्योग भने कच्चा पदार्थ र कामदार अभावका कारण पूर्ण रूपमा सञ्चालन हुन नसकेको हो। आर्थिक वर्ष २०७९÷८० को तुलनामा २०८०/८१ मा केही उद्योगको उत्पादनमा वृद्धि भएपनि रोजिनको उत्पादन भने प्रत्येक वर्ष घट्दै गएको नेपाल राष्ट्र बैँकको प्रतिवेदनले देखाएको छ।
२०७९/८० मा रोजिनको उत्पादन १६ दशमलव ८४ प्रतिशतले घटेको थियो भने आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशमा रोजिनको उत्पादन ३ दशमलव ४७ प्रतिशतले घटेको प्रतिवेदनले देखाएको हो।
यस्तै आर्थिक वर्ष २०८०/८१ मा तोरीको तेल उत्पादनमा ५० दशमलव ६८ प्रतिशत, साबुनमा २३ दशमलव ७७ प्रतिशत, इटामा २२ दशमलव २२ प्रतिशत र चिनीमा १६ दशमलव १६ प्रतिशतले घटेको देखिएको छ।
चामलको र गहुँको पीठो उत्पादन भने क्रमशः ३६ दशमलव ६९ प्रतिशत र २१ दशमलव ७८ प्रतिशतले वृद्धि भएको छ।
आर्थिक वर्ष २०७९/८० मा तेलको ८९ दशमलव ६९ प्रतिशत, चामलको ५ दशमलव ८१ प्रतिशत, चिनीको २७ दशमलव शून्य ७ प्रतिशत, साबुनको १० दशमलव २० प्रतिशत र इटाको २८ दशमलव ५७ प्रतिशतले उत्पादन वृद्धि भएको थियो।
यस प्रदेशको नमुना छनौटमा समेटिएका १२ उद्योगको औसत क्षमता उपयोग ४८ दशमलव ९६ प्रतिशत छ।
पछिल्लो समयमा बजारमा देखिएको शिथिलताका कारण कर्जाको समष्टिगत मागमा कमी आई थप लगानी हुन नसकेकोले औद्योगिक क्षमता र उत्पादन दुवैमा कमी आएको देखिएको हो। अध्ययनमा समेटिएका उद्योगहरूमा प्रत्यक्ष रोजगारी एक हजार तीन सय ४७ जना रहेका छन्। जसमा ३१२ जना भारतीय नागरिकहरू छन्।
रोजगारीमा आबद्ध महिला तथा पुरुषको अंश क्रमशः ११ प्रतिशत र ८९ प्रतिशत रहेको छ। प्रदेशमा स्थापना गरिएका उद्योगहरूको सञ्चालनसँगै उत्पादन बढाउन सके सुदूरपश्चिम प्रदेशको पूर्वाधार निर्माणमा थप टेवा पुग्ने देखिन्छ।
