त्रिकोणीय टी २० महिला क्रिकेटमा नेपालको दोस्रो हार
काठमाडौँः घरेलु मैदानमा नेपालले त्रिकोणीय टी २० महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको छ।
नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सहभागी प्रतियोगितामा शनिबार नेपालले त्रिवि मैदान कीर्तिपुरमा दोस्रो हार व्यहोरेको हो। थाइल्डले नेपाललाई चार विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ। नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १०१ रन बनाएको थियो। जवाफमा थाइल्यान्डले ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। थाइल्यान्डका जितमा नान्नपट कोन्चारोन्कैले नटआउट ६० रन बनाइन्।
नेपालका लागि मनिषा उपाध्यायले दुई विकेट लिइन् भने कविता कुँवर, कविता जोशी र रुविना क्षेत्रीले एक एक विकेट लिए । त्यसअघि नेपालका लागि कविता कुँवर र विन्दु रावलले २५–२५ रन बनाएका थिए भने कप्तान इन्दु बर्माले १५ रनको योगदान दिएकी थिइन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्। नेपाल पहिलो खेलमा बिहीबार नेदरल्यान्ड्ससँग पराजित भएको थियो। उता शुक्रबार थाइल्यान्डले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।
तीन टिम सहभागी प्रतियोगितामा रहेक टिमले एकअर्कासँग दुई दुई खेल खेल्नेछन्।