सभामुखको निर्देशनमा सुदूरपश्चिमको संसदीय समितिको निर्वाचन स्थगित
धनगढीः सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा संसदीय समितिको निर्वाचन स्थगित गरिएको छ।
सभामुख भण्डारीले मङ्गलवार प्रदेश सभा सचिवालयलाई निर्वाचन स्थगित गर्न निर्देशन दिएका हुन। प्रदेश सभा सचिवालयले माघ १३ गते सार्वजनिक गरेको निर्वाचन तालिका अर्काे सूचना सार्वजनिक नभएसम्मका लागि रोकिएको बताएको छ।
विशेषाधिकार समितिको सभापतिको उम्मेदवार काँग्रेसले टुङ्गो लगाउन नसकेपछि माघ १८ गते हुने भनिएको संसदीय समितिको निर्वाचन अनिश्चितताका लागि स्थगित भएको हो।
प्रदेश सभाले माघ १३ गते सार्वजनिक गरेको सूचनामा माघ १७ गते नामावली प्रकाशन, सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता र दाबी विरोधको कार्यक्रम राखिएको थियो। माघ १८ मा सभापति चयनका लागि सम्बन्धित समितिको बैठक बस्ने तालिका थियो। अब, उक्त तालिकाअनुसार निर्वाचन प्रक्रिया अगाडि नबढ्ने भएको हो।
प्रदेश सभाका सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक श्रोत समिति र सामाजिक विकास समितिको रिक्त रहेको सभापति पदको निर्वाचन तयारी गरिएको थियो। तर, काँग्रेसले आफ्नो भागमा पाएको विशेषाधिकार समितिको पनि निर्वाचन एकै दिन गर्नेगरि निर्वाचन प्रक्रिया स्थगित गर्न आग्रह गरेको हो।
सुदूरपश्चिममा सत्तारूढ दल नेपाली काँग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीको बिचमा विषयगत समितिको सभापतिमा पुस ११ गते भागबन्डा भएको थियो। नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र नेपाली काँग्रेसलाई विशेष समितिका सभापति लिनेछ।
विशेषाधिकार समिति बाहेकका अन्य तीन समितिमा तीन दलले आफ्ना उम्मेदवार करिब टुङ्गो लगाइसकेका दाबी गरेका छन। तर, विशेषाधिकार समितिमा सभापति बनाउने गरी काँग्रेसले मधु भारती र तुलसी देवकोटाको नाम सिफारिस गरेको थियो। ती दुई मध्ये को सभापति बन्ने भन्ने विषय टुङ्गो नलाग्दा निर्धारित समयमा निर्वाचन हुन नसकेको हो।