सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा दुई किशोरी मृत्यु प्रकरणको अनुसन्धान गर्न ‘एक्सपर्ट’ परिचालन

२०८१ माघ १५, ०४:२४ खबर संवाददाता

धनगढी : अछामको ढकारी गाउँपालिकाका–८ की १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको ‘शङ्कास्पद’ मृत्युको अनुसन्धान गर्न विज्ञ टोली परिचालन गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीले विशेषज्ञ टोली अछाम पठाएको हो।

प्रहरीले घटनाको तालिम प्राप्त कुकुरसहित अनुसन्धान थालेको थियो। घटना शङ्कास्पद देखिएपछि थप विशेषज्ञ प्रहरी जनशक्ति मङ्गलवार अछाम गएको हो। प्रदेश प्रहरी कार्यालयबाट प्राविधिक अनुसन्धान गर्नलाई विशेषज्ञ टोली बोलाइएको अछाम प्रहरी प्रमुख ईश्वरी प्रसाद भण्डारीले बताए। उनले भने, ‘प्राविधिक टोली आउदैछ। डिआइजी साप पनि आउदै हुनुहुन्छ। २ जनाको नाममा किटानी दर्ता भएको छ।’

प्राविधिक अनुसन्धान गर्न विज्ञहरूसहित प्रदेश प्रहरी प्रमुख गणेश चन्द अछाम लागेका हुन। घटनास्थलमा प्रहरीले २ वटा मोबाइल भेटाएको थियो। फोनको अनुसन्धानका लागि प्राविधिक टोली अछाम गएको हो। भण्डारीले भने,‘मोबाइल र अन्य प्राविधिक विषयको अनुसन्धान गर्ने एक्सपर्ट टोली आउदैछ।’ किशोरी मृत्युको घटनामा अहिलेसम्म २ जनाको नाममा किटानी दर्ता भएको छ। उनीहरू प्रहरीको नियन्त्रणमा छन्।

ढकारी गाउँपालिका–८ की एक किशोरीले शुक्रवार दिउँसो शव भेटिएको विपरीत डाँडाबाट ५ जनाले ढुङ्गा खसाल्दै गरेको देखेपछि अनुसन्धान त्यसतर्फ मोडिएको थियो। १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको शव १५ मिटरको दुरीमा फेला परेको होे। घटनास्थलबाट करिब पाँच सय मिटरमाथि रक्ताम्मे ठाउँ देखिएको स्थानीयले प्रहरीलाई जानकारी गराएपछि घटना थप रहस्यमय बन्दै गएको छ।

शुक्रवार बाख्रा चराउन गएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का ढकारी–१ मा पर्ने रिमारवा छिन्ने जंगलमा शनिवार मृत फेला परेका थिइन। उनीहरूको शव परीक्षणका लागि नेपालगञ्ज पठाइएको छ।

 

कमेन्ट लोड गर्नुस