सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मन्त्री र कर्मचारी देखावटी रोपाइमा, किसान मलको पर्खाईमा

२०७६ असार १५, ०६:४१ कमल सावद

सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री सहितको मन्त्रालयको टोली आईतवार विहान धान दिवस मनाउन कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाँउ पुग्यो। धान खेतीमा प्रविधि र यान्त्रिकरीकरण, चामल आयातमा न्यूनीकरण सहितको ब्यानर पछाडी कृषि मन्त्री विनिता चौधरी सहित प्रदेश सभा सदस्यहरु र मन्त्रालयका कर्मचारीको सहभागिता थियो। केही बेरमा औपचारिक कार्यक्रमको सुरुवात भयो र मन्त्री सहितका कार्यक्रमका सहभागीहरु रोपाइका लागि खेतमा निस्किए। 
तर धान रोप्न अगाडी आवश्यक मल भने खेतीमा छरिएको थिएन्। मल विना नै मन्त्री, सासंद र कर्मचारीले रोपाई गरे। दिवसको अवसरमा मन्त्री सहितको टोलीले धान रोपेको खेतमा पनि रसायनिक मल नछरिएको किसान उर्मिला पन्तले बताईन्। 
किसान रामप्रसाद चौधरीले बजारमा मल नपाएपछि मल विना नै रोपाई गरिरहेको बताए। १५ कट्टा जग्गाका लागि आवश्यक पर्ने ५० किलो मल समेत नपाएको गुनासो उनको थियो। 
‘दुई पटक मलका लागि बजार पुगे,’ उनले भने, ‘मल भेटाएन, एक सहकारीले मल वितरण गर्दै थियो, लाईनमा बसे, तर मल पाएन्।’ मल विना नै रोपाई गरेपनि उत्पादन अपेक्षा अनुसारको नहुने चिन्ता किसानहरुमा छ। मल र ईन्धनको अभाव तथा सिँचाई सुविधा नहुँदा सुदूरपश्चिमका ७० प्रतिशत बढि खेत असार १५ सम्म पनि बाँझै रहेको अवस्थामा प्रदेशका मन्त्री, सासंद र नेताहरु भने धान दिवसमा रोपाईमा व्यस्त देखिएका थिए।।
किसनहरुले प्रत्येक वर्ष जस्तै यो वर्ष पनि मलका लागि दैनिक सहकारी धाउनु पर्ने बाध्यता छ। तर पनि मल पाइएको छैन्। किसानहरुको समस्या बुझ्ने कोषिस समेत नगरेका प्रदेशका मन्त्री, सासंद र कर्मचारीहरु भने एक दिने रोपाईमा रोपाहर जस्तै व्यस्त देखिएपछि अहिले आलोचना भईरहेको छ। 
सुदूरपश्चिममा एक लाख ८१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। तर खेतीपातीको समयमा मल अभावको समस्या बर्षेनी हुँदै आएकाले धानको उत्पादन बढ्न सकेको छैन्। प्रदेशमा धानको औषत उत्पादन ६ लाख ४८ हजार मेट्रिक टन मात्र रहेको छ। यता प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले भने मलको सहज आपुर्ति गर्नका लागि सरकारले पहल गरिरहेको दावी गरिन्।
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस