सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ठेकराज नमुना माविका विद्यार्थी भन्छन्ः प्रतिस्पर्धामा उत्रिन सक्षम छौँ

२०८१ माघ १५, १०:२९ नारायण अवस्थी

धनगढीः धनगढीको ठेकराज मावि नमुना विद्यालय घोषणा भएपछि विद्यार्थी र अभिभावक खुसी भएका छन्।

नमुना विद्यालय घोषणा भएपछि शिक्षण सिकाइसँगै नियमित अतिरिक्त क्रियाकलाप हुन थालेको छ। ठेकराज माध्यमिक विद्यालयमा सिकाइ उपलब्धि मापनका लागि चार वटा परीक्षा गर्न थालिएको छ। विद्यालय भवन मर्मत र रङ्गरोगन गरिएको छ। शिक्षक सिकाइ दिगो प्रभावकारी बनाउन कक्षाहरूमा आइसिटी जडान हुँदा विद्यार्थीहरू उत्साहित भएका छन्।

धनगढी उपमहानगरपालिका– ११ घोडसुवामा रहेको ठेकराज माध्यमिक विद्यालय गत वर्ष नमुना घोषणा भएपछि नियमित पठनपाठनसँगै हरेक शुक्रवार अतिरिक्त क्रियाकलाप हुन थालेको हो। शिक्षण सिकाइ दिगो र प्रभावकारी बनाउन धनगढीका नमुना विद्यालयका कक्षाहरूमा आइसिटी जडान गरिएको छ।

विद्यालयमा साना विद्यार्थीका लागि प्लेस्टेसन राखिएको छ भने पर्याप्त खेल सामग्रीसमेत हुँदा विद्यार्थीहरूलाई नियमित विद्यालय आउन उत्प्रेरणा मिलेको छ। नमुना विद्यालय भएपछि विद्यालयमा धेरै परिवर्तन आएको कक्षा ९ मा अध्ययनरत छात्रा अम्बिका ओझाले बताइन्। ‘हाम्रो विद्यालय नमुना भएपछि धेरै सुधार भएको छ। नियमित पढाइ हुन्छ भने हरेक शुक्रवार अतिरिक्त क्रियाकलाप हुने गरेका छन्,’ उनले भनिन्, ‘पहिले खेल सामग्री हुन्थेनन्, अहिले पर्याप्त सामग्री छन्। बाल क्लब गठन गरेर कार्यक्रम भइरहन्छन्। विद्यालय भवनको मर्मत पनि भएको छ। अहिले राम्रो छ।’

विद्यालयका विषयगत शिक्षक हुँदा विद्यार्थीको पढाइमा सुधार आउनुका साथै सिकाइ उपलब्धिमा पनि सुधार भएको छ। विद्यालयमा विभिन्न क्लबको गठन गरेर नियमित गतिविधि हुन थालेको छ भने नगरपालिकाबाट समेत नियमित अनुगमन हुने गरेको विद्यार्थीहरूले बताएका छन्। सामुदायिक विद्यालयमा पढाइ हुँदैन, अतिरिक्त क्रियाकलाप हुँदैनन् भन्ने मान्यता ठेकराज माध्यमिक विद्यालयको हकमा पुरानो भएको कक्षा ९ का छात्र प्रकाश नेपालीले बताए। उनले विद्यालयमा भएको परिवर्तनले आफूहरू पनि निजि विद्यालयका विद्यार्थीहरूसँग सबै विधामा मजाले प्रतिस्पर्धा गर्न सक्ने भएको बताए। “नमुना विद्यालय भएपछि विद्यालयमा निकै धेरै सुधार भएको छ। हामीलाई पनि निजी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने आत्मविश्वास बढेको छ,’ प्रकाशले भने।

धनगढी–११ बेलाकी सीताकुमारी भण्डारी ओझाले आफ्ना दुई जना छोरालाई ठेकराजमै भर्ना गरेकी छन्। उनको एक छोरा एलकेजीमा पढ्छन् भने अर्को छोरा कक्षा ४ मा पढ्छन्। विद्यालयमा निकै सुधार भएको ओझाले बताइन्।

नमुना विद्यालय घोषणा भएपछि अन्य विद्यालयको तुलनामा करिब चालिस दिन बढी विद्यालय लाग्ने भएको छ। विद्यालय भवनको मर्मत सम्भार गरिनुका साथै शिक्षक तालिम, शैक्षिक सामग्रीको उपलब्धता समेतबढेको छ। तर विद्यालय भवनहरू पूराना र अपर्याप्त भएकाले केही कठिनाइ भएको विद्यालयका प्रधानाध्यापक लेखराज ओझाले बताए। ‘नमुना घोषणा भएपछि विद्यालय भवन मर्मत गर्ने, आइसिटी जडान गर्ने र अन्य विद्यालयको भन्दा बढी दिन पठनपाठन हुन थालेको छ। विद्यार्थीहरूको सिकाइ उपलब्धिमा पनि सुधार भएको छ,’ उनले भने, ‘विद्यालय भवनको अभाव र ईन्टरनेटको समस्याले हरेक कक्षामा आइसिटी नेटवर्क विस्तार गर्न कठिन भएको छ।’

धनगढी उपमहानगरपालिकाले गत वर्ष पाँच विद्यालयलाई नमुना घोषणा गरेको हो। ग्रामीण क्षेत्रका कमजोर शैक्षिक र भौतिक अवस्था भएका विद्यालयलाई नमुना घोषणा गरिएको हो। नमुना घोषणा गरिएका विद्यालयहरूमा थप लगानी गरेर शैक्षिक र भौतिक अवस्थामा सुधार ल्याउने उपमहानगरको योजना छ।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस