महाकाली राजमार्ग पहिरोका कारण तीन दिनदेखि अवरुद्ध
धनगढी : महाकाली राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ। जिल्लाको महाकाली नगरपालिका–५, किम्तडी ठन्याकाठामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।
सडक निर्माणका क्रममा पहिरो खस्दा महाकाली राजमार्गको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ। किम्तडी भिरमा खसेको पहिरो पन्छाउन नसक्दा तीन दिनदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। पहिरोले विद्युत् लाइनमा समेत क्षति पुगेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले धनगढी, महेन्द्रनगरबाट जाने सवारी चार किलोमिटर तल रोक्नु परेको बताए। उनले भने, ‘खलङ्गा भन्दा चार किलोमिटर तल सडक अवरुद्ध भएको छ। धनगढी, महेन्द्रनगरबाट आउने गाडीहरू त्यहीबाट फर्किनु परेको छ।’
निर्माण क्षेत्रमाथिबाट पहिरो खस्दा शुक्रवार एक्साभेटर सडकबाट २०/२५ मिटर तल महाकाली किनारमा खसेको थियो। एक्साभेटर अपरेटर जाजरकोटको जुनीचाँदे गाउँपालिका–११ का रेसम बुढा घाइते भएका थिए। उनको हेलिकोप्टरमार्फत उद्धार गरेर धनगढी लगिएकामा धनगढीबाट समेत कोहलपुर रेफर गरिएको छ।
अवरुद्ध सडक खुलाउन शनिवारदेखि महाकाली नगरपालिकाको एक्साभेटर प्रयोग गरिए पनि माथिबाट पहिरो खसिरहेकाले काम गर्न समस्या भएको हो। अवरुद्ध सडक खुलाउन अझै एक/दुई दिन लाग्न सक्ने जिल्ला प्रशासन कार्यालय, दार्चुलाले जनाएको छ।
सडक अवरुद्ध भएपछि दार्चुलाका विभिन्न स्थानका साथै दार्चुलाबाट कैलाली, कञ्चनपुर, काठमाडौँका लागि छुट्ने र जिल्ला सदरमुकाम खलङ्गासम्म जाने यातायातका साधन र यात्रुलाई समस्या भएको छ। खलङ्गाबाट किम्तडीसम्म पैदल हिँडेर यात्रा गर्नु पर्ने बाध्यता रहेको छ। सशस्त्र प्रहरी दार्चुलाको टोलीले किम्तडी भिरमा शनिवार पैदलमार्ग निर्माण गरेको छ।
पहिरोमा परी महाकाली नदी किनारमा खसेको एक्साभेटर पनि निकाल्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताएका छन्। पुस १५ गते पनि क्षेत्रमा सडक निर्माणकै क्रममा पहिरो खस्दा एक हप्तासम्म सडक अवरुद्ध थियो।