सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिपक्षी दल उपस्थित नभएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगीत

२०७६ असार १५, ०४:१६ खबर संवाददाता

प्रदेश सरकारले प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७६/७७ को बजेटको विरोधमा रहेको प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपा उपस्थित नभएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगीत भएको छ। आज दिउँसो ३ बजेका लागि बोलाईएको बैठक प्रतिपक्षी दलको अनुपस्थितका बिच सञ्चालन भएपनि सभामुखले कार्यसूचीमा प्रवेश नगरी स्थगीत गरेका हुन्।

सभामुख अर्जुन बहादुर थापाले प्रतिपक्षी दलको सभामा उपस्थिती नरहेको भन्दै असार १७ सम्मका लागि बैठक स्थगीत गरेका हुन्। तर प्रतिपक्षी दलले भने  आफूहरु सरकारसंग वार्तामा रहेका बेला मुख्यमन्त्री त्रिलोचन भट्टले सभामुखलाई टेलिफोन गरी बैठक स्थगीत गर्न  आग्रह गरेका कारण उपस्थिती नजनाएको दावी गरेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा.रण बहादुर रावलले भने,‘ हामी आज मुख्यमन्त्री ज्यूसंग छलफलमा बसेका थियौँ, छलफलकै क्रममा मुख्यमन्त्री ज्यूले सभामुख ज्यूलाई टेलिफोन गर्दै  बैठक अर्को दिनलाई सार्न आग्रह गरेका थिए।’ प्रदेशसभा बैठक स्थगीत भइसक्यो की भन्ने लागेर आफूहरु उपस्थित नभएको रावलले बताए।

उनले सरकारसंगको वार्ता सकारात्मक कोणबाट अगाडी बढेकाले छिट्टै निष्कर्षमा पुग्ने पनि जनाए। यता नेकपाका प्रमुख सचेतक तारालामा तामाङले बैठक अर्को दिनलाई सार्ने समझदारी भएको तर प्राविधिक त्रुटीका कारण सभालाई समयमै जानकारी गराउन नसक्दा सञ्चालन भएको दावी गरे।      
 

कमेन्ट लोड गर्नुस