सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौमाला–खैराला सडकको नौ सय मिटर कालोपत्र हुँदै, चुरे भिरका लागि छैन बजेट

२०८१ माघ ९, १०:१४ कमल सावद

धनगढी : कैलालीको चौमाला–खैराला सडकको नौ सय मिटरमा कालोपत्र हुँदैछ। गौरीगंगा नगरपालिका–१ चौमाला बजार क्षेत्रको एक मिटर सडक कालोपत्रको काम फागुनमा पूरा हुने भएको हो।

सडक डिभिजन कार्यालय, महेन्द्रनगरले गत आर्थिक वर्षको वैशाखमा ठेक्का सम्झौता गरेको सडकको काम तीव्र पारेको छ। निर्माण कम्पनीले सडकको नालीसहितका पूर्वाधारहरूको काम सकेकाले फागुन भित्रमा कालोपत्रको काम पूरा हुने दाबी गरिएको छ। सडक डिभिजन कार्यालय, महेन्द्रनगरका इन्जिनियर चित्र चौलागाईले चौमालामा नौ सय मिटर सडक निर्माणको ५० प्रतिशत काम सकिएको बताए। उनले भने, ‘चौमालामा नौ सय मिटर हो। एक करोड ९५ लाखमा ठेक्का भएको हो। वैशाखमा सम्झौता भएको हो। समय छ। तर, अबको एक÷दुई महिनामा काम सकिन्छ। ५० प्रतिशत पुगेको छ। तर, सब बेस र कालोपत्र भएपछि प्रगति ह्वात्तै हुन्छ।’

चौमाला बजार क्षेत्रमा नौ सय मिटर कालोपत्रको काम अन्तिम चरणमा पुगेका बेला पाँच किलोमिटर सडक कालोपत्रका लागि थप बजेट माग गरिएको छ। चालु आर्थिक वर्षमा सडक डिभिजन कार्यालय, महेन्द्रनगरले १० करोड बजेट माग गरेको हो। सडक डिभिजन कार्यालय, महेन्द्रनगरले चुरे फेदीको पाँच किलोमिटर कालोपत्रका लागि बजेट माग गरेको बताएको छ। तर, चुरे क्षेत्रको सडक कालोपत्र तथा स्तरवृद्धिका लागि बजेट छैन। सडक डिभिजन कार्यालय, महेन्द्रनगरका प्रमुख राजेशकुमार यादवले चौमाला क्षेत्रको सडक कालोपत्रको काम जारी रहेको र चुरे फेदीको सडक कालोपत्रका लागि बजेट माग गरेको बताए। उनले भने, ‘हामीले प्रक्रिया सुरु गरेका छौ। १० करोड थप बजेट माग गरेका छौ। नयाँ ठेक्काका लागि बजेट माग गरेका हौ। १० करोड बजेट आयो भने, पाँच किलोमिटरका लागि पुग्छ। चालु आर्थिक वर्षमा पुराना ठेक्काको भुक्तानीका लागि मात्र बजेट छ।’

चौमाला बजारदेखि खैराला जोड्ने सडकको २०६४ चैत्र २८ गते यातायात मन्त्री हुँदा लेखराज भट्ट शिलान्यास गरेका थिए। नेकपा एमालेका सचिव भट्टले चौमाला–खैराला सडकको शिलान्यास गरेको १७ वर्ष पूरा भएको छ। तर, चौमाला–खैराला सडकमा यातायात सञ्चालनमासमेत समस्या रहेको छ। चौमाला–खैराला सडकको चुरे क्षेत्रमा स्तरवृद्धिका लागि समेत बजेटको अभाव रहेको हो। चालु आर्थिक वर्षमा नयाँ ठेक्का तथा स्तरवृद्धिका लागि सङ्घीय सरकारले बजेट विनियोजन गरेको छैन।

कैलालीको गौरीगंगा नगरापालिका–१ चौमाला बजारदेखि २४ किलोमिटरको दुरीमा गर्भादरबार छ। तर, चुरे गाउँपालिका–४ को वडा कार्यालय रहेको गर्भादरबारसम्म जानसमेत सडक पूर्वाधारको समस्या छ। चौमाला–खैराला सडकको कटौजे क्षेत्रको भिरमा सवारी सञ्चालनमा समस्या छ। कटौजे क्षेत्रमा बर्सातको समयमा सवारी सञ्चालनमा समस्या छ। वर्षातको पानीले सडक बगाउने समस्या रहेको हो। तर, चुरे क्षेत्रको सडक कालोपत्र र स्तरवृद्धिका लागि योजना छैन। प्रत्येक वर्ष चुरे गाउँपालिकाको बजेटले सडक मर्मत गर्ने काम हुँदै आएको छ।

सुगम जिल्ला कैलालीको दुर्गम गाउँपालिका चुरे–२ र ४ का जनताको सुविधाका लागि चौमाला–खैराला सडक निर्माण थालिएको हो।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस