सुदूर नेपाललाई विश्वसँग जोड्दै

अदुवाको मुल्य दोब्बरले बढ्यो

। फोटो स्रोत ।
२०७६ असार १४, ०५:०२

अदुवाको मुल्य दोब्बरले बढेको छ। पूर्वी पहाडी जिल्लाहरुबाट उत्पादन हुने नगदे बाली अदुवाको मुल्य सिजनको सुरुमै अघिल्लो वर्षको तुलनामा दोब्बरले बढेसँगै किसानहरु उत्साहित भएका छन्। गत वर्ष  प्रतिमन (४० केजीको) २ हजारमा बिक्री भएको अदुवा यो वर्ष सिजनको सुरुमै ६ हजारसम्म पुगेको कृषक महासंघ पाँचथरका अध्यक्ष गणेश पोख्रेलले बताए। उनका अनुसार फाल्गुन र चैतमा रोपिएको अदुवा खन्ने समय हुनलाग्दा अदुवा किन्नका लागि व्यापारीहरु किसानहरुको घर–घरमा पुगिरहेका छन्।

अदुव खनेर असार अन्तिमदेखि साउन र भदौमा  निकालेर बेच्ने गरिन्छ। पूर्वी पहाडी जिल्लामा उत्पादित अदुवाको मुख्य बजार भारत हो। उत्पादित अदुवा ९० प्रतिशत झापाको काकडभिट्टा नाका हुँदै भारत निर्यात हुने गर्दछ भने १० प्रतिशत बंगलादेशमा निर्यात हुँदै आएको पोख्रेलले बताए।

अघिल्ला वर्षहरुमा अदुवाको भाउ धेरै घट्नुका साथै निकासीका क्रममा भारतीय पक्षले अवरोध खडा गरेपछि किसानले घाटा खाँदै आएका थिए। यस वर्ष भने सिजनको सुरुमै राम्रो भाउ आएकाले यस्तो समस्या नदोहोरिने आशामा बसेको पाँचथर कुम्मायक–४ का किसान लेखनाथ खनालको भनाइ छ।

यसवर्ष माउ निकाल्ने सिजनमा प्रतिमन ६ हजार ५ सय पुगेको छ, तर  भारतीय बजारमा निर्भर अदुवाको बेलाबेलामा हुने भाउको उतारचढावले गर्दा सोचेअनुसारको उत्पादन गर्न भने नसकिएको खनालको भनाइ छ। अदुवाको माउ झिक्ने बेलामै राम्रो भाउ आएकाले उत्साहित भएको सराङडाँडाका किसान योग तिलमाया भण्डारीले बताए। उनले भने, अघल्लो वर्ष प्रतिमन १५ सयका दरले २० मन बेचे, यो वर्ष पनि त्यसरी नै उत्पादन भएमा राम्रो आम्दानी हुन्छ।

जिल्लाभरमा ९ सय ४५ हेक्टर जमिनमा अदुवा खेती गरिने तथ्याङक छ। तथ्याङक  अनुसार अघिल्लो वर्ष ७ हजार ५ सय ६० मेट्रिक टन अदुवा उत्पादन भएको थियो।

यस्तै पूर्वी पहाडी जिल्लामध्ये सबैभन्दा बढी अदुवा उत्पादन हुने जिल्ला मानिएको इलाममा पनि अदुवाको भाउ बढेपछि यहाँका किसान उत्साहित बनेका छन्।  इलाम जिल्लामा ३ हजार २ सय ३३ हेक्टर जमिनमा अदुवा खेती गरिन्छ। जिल्लाभरमा अघिल्लो वर्ष ४५ हजार ८ सय ९४ मेट्रिक टन अदुवा उत्पादन भएको तथ्याङक रहेको छ।

इलामका पहिलेका पुवामझुवा, नाम्सालिङ्ग, साङ्रुम्बा, जमुना, चमैता, प्याङ्ग, सोयाक, धुसेनी, माइपोखरी, सोयाङ्गलगायतका ठाउँहरुमा व्यावसायिक अदुवा खेती गरिने जिल्ला कृषि ज्ञान केन्द्रको कार्यलय इलामले जनाएको छ। 

कमेन्ट लोड गर्नुस