सन्दीप लामिछानेलाई क्यानको कारवाही
काठमाडौंः नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघले कारबाही गरेको छ।
अनुशासन उल्लंघन गरेको भन्दै उनलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध लगाउने निर्णय भएको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बि लामाले जानकारी दिए। जय ट्रफीको क्रममा उनले सामाजिक सञ्जालमा रेफ्रीविरुद्ध टिप्पणी गरेपछि क्यानले कारबाही गरेको लामाले बताए। क्यानले उनलाई स्पष्टीकरण समेत सोधेको छ। क्यान र खेलाडीबीचको सम्झौतामा क्यानसँग सम्बन्धित अधिकारीहरुविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाउने व्यवस्था छ।
सन्दीपले सोही कुराको उल्लंघन गरेको क्यानको निष्कर्ष छ। जय ट्रफीमा सन्दीपले बागमती प्रदेशको टोलीको कप्तानी गरेका थिए। उनको टोली फाइनलमा पुग्न सकेन। नेपाल पुलिस क्लबले आर्मी क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो । सन्दीपले जनवरी १० मा सामाजिक सञ्जालमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने उल्लेख गर्दै अम्पायरको निर्णय राम्रो नभए धेरै खेलाडीहरूलाई असर पुग्ने बताएका थिए।