सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा घुस सहित रंगेहात पक्राउ पर्ने पहिलो महिला कर्मचारी, बार्गेनिङमा मुख्य भुमिका

२०७६ असार १४, ०७:१३ जनक विष्ट

महिला कर्मचारी। भन्ने बितिकै धेरैलाई लाग्छ, सालिन, भद्र र इमानदार हुन्छन्। महिला भएकै कारण पनि उनीहरु स्वभावैले पनि पुरुष कर्मचारी भन्दा सेवा प्रवाह र व्यक्तिगत व्यवहारमा भिन्न हुन्छन्। सेवाग्राहीसंग सालिन भएर बोल्ने, भद्र व्यवहार गर्ने र इमानदारिता दर्शाएर आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्छन महिला कर्मचारी भन्ने आम बुझाई छ। अझ भ्रष्टाचार र अनियमिताको अभियोग लागेर कानूनी कारवाही भोगेका महिला कर्मचारीको संख्या समेत न्युन रहेको अधिकारीहरुले बताउँदै आएका छन्।

उक्त कुराले पनि महिला कर्मचारीहरु पुरुष कर्मचारीको तुलनामा पदीय मर्यादा विपरीतका काम गर्दैनन् भन्ने कुरा स्वतः पुष्टि हुन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको तथ्याङ्कलाई नै आधार मान्ने हो भने २०७० साल यता कार्यालय सहयोगी देखि उप–सचिव स्तरका २० जना कर्मचारी सेवाग्राहीबाट घुस लिने क्रममा रंगेहात पक्राउ परिसकेका छन्। जसमा सबै पुरुष रहेको अख्तियारको कार्यालय महेन्द्रनगरले जनाएको छ।

तर बीहिबार भने कञ्चनपुरको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका डिभिजन इन्जिनीयर अजित कुमार श्रीवास्तव र इन्जिनीयर ग्रिस्मा ठगुन्नालाई सेवाग्राहीबाट लिएको दुई लाख घुस रकम सहित अख्तियारको टोलीले पक्राउ ग¥यो। उक्त प्रकरणमा पक्राउ पर्ने इन्जिनीयर ग्रिस्मा ठगुन्ना सुदूरपश्चिमको हकमा घुस सहित रंगेहात पक्राउ पर्ने पहिलो महिला कर्मचारी भएको अख्तियारले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रमुख शिव कुमार कार्कीले २०७० साल देखी बीहिबार सम्म विभिन्न तहका २२ कर्मचारी घुस रकम सहित रंगेहात पक्राउ परेको बताए।

जसमा ठगुन्ना रंगेहात पक्राउ पर्ने पहिलो महिला कर्मचारी भएको कार्कीले उल्लेख गरे। रंगेहात पक्राउ परेका डिभिजन इन्जिनीयर र इन्जिनीयर ठगुन्नालाई आवश्यक थप अनुसन्धाका लागि अख्तियारले आज काठमाडौँ पठाएको छ। तर यो प्रकरणमा मुछिएका दुवैजना मध्ये कसेको भुमिका के थियो भन्ने विषयको खोजि हुन थालेको छ। दिनेश खबरलाई प्राप्त जानकारी अनुसार डिभिजन प्रमुख भन्दा घुस रकम बार्गेनिङमा इन्जिनीयर ठगुन्नाको मुख्य भुमिका रहेको भेटिएको छ।  

 

यसरी सुरु भयो ठगुन्नाको सेवाग्राहीसंग बार्गेनिङ
चार वर्ष अगाडी मात्र सरकारी सेवामा प्रवेश गरेकी ग्रिस्मा ठगुन्ना तत्कालीन एमालेबाट निर्वाचित दार्चुलाका प्रतिनिधीसभा सदस्य गणेश ठगुन्नाकी भतिजी नाता पर्छिन्। महेन्द्रनगरमा बसोबास गर्दै आएकी इन्जिनीयर ठगुन्ना जलस्रोत तथा सिचाई डिभिजन कार्यालयको सूचना अधिकारी समेत हुन्। प्रदेश सरकारको झण्डै २५ लाखको लागतमा कञ्चनपुरको भीमदत्त नगरपालिका १९ मा चौधर नदी नियन्त्रण तटबन्धनको योजनामा गत जेठ २२ गतेबाट सुरु भएको थियो, उनको घुस रकमको बार्गेनिङ।

चौधर नदी नियन्त्रण तटबन्धन योजनाको उपभोक्ता समितिका अध्यक्ष मिलन सिंह जेठ २२ गते भुक्तानीका लागि भन्दै विल भरपाई सहित सिचाई डिभिजन कार्यालयमा पुगेका थिए। युवा संघका केन्द्रीय सदस्य समेत रहेका सिंहलाई डिभिजन प्रमुख अजित कुमार श्रीवास्तवले ठगुन्नालाई भेट्न आग्रह गरेका थिए। सिंह ठगुन्नाको कार्यकक्षतीर हानिए।

इन्जिनीयर ठगुन्नासंग सो दिन भएको कुरा स्मरण गर्दै सिंहले दिनेश खबरलाई भने, ‘हेर्नुस् मन्त्रालय सम्मै भाग दिनुपर्छ, तपाईले २५ लाखको यो योजनामा १५ प्रतिशत दिए मात्र भुक्तानी मिल्छ नभए म रोक्का गरिदिन्छु।’ सिंहले पटक–पटक आग्रह गर्दा पनि कमिशन नदिए योजना अर्को ठाउँमा पारिदिने धम्की समेत ठगुन्नाले आफूलाई दिएको सुनाए। २५ लाखमा भ्याट कटाउँदा हुन  आउने २३ लाखको १५ प्रतिशत तीन लाख ४५ हजार रकम इन्जिनीयरलाई दिनैपर्ने बाध्यतामा आफू परेको सिह बताउछन्।

तर बार्गेनिङ गर्दै जादा अन्तमा दुई लाखमा इन्जिनीयर ठगुन्नाले ओके गरेकी थिईन्। र अन्ततः ठगुन्ना बीहिबार दुई लाख रकम बोकेर सिँचाई डिभिजन कार्यालय पुगेका थिए। तर त्यस पूर्व नै उनले अख्तियारलाई खबर गरिसकेका थिए। डिभिजन प्रमुख श्रीवास्तवकै कार्यकक्षमा उनले उक्त रकम संयुक्त रुपमा ठगुन्ना र श्रीवास्तवलाई बुझाएका थिए र त्यसको केही बेरमा अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो। 

डिभिजन प्रमुखले नै बार्गेनिङ गर्न लगाएका थिए इन्जिनीयर ठगुन्नालाई 
सेवाग्राहीसंग घुसको बार्गेनिङ गर्ने इन्जिनीयर ग्रिस्मा ठगुन्ना भएपनि त्यसमा प्रमुख हात भने डिभिजन इन्जिनीयर श्रीवास्तवकै रहेको उनी बताउछन्। अन्य योजनामा पनि लाखौँ घुस खाएको आरोप लागेका श्रीवास्तवले बार्गेनिङमा कार्यालयका इन्जिनीयर र सब इन्जिनीयरलाई प्रयोग गर्दै आएको आफूले पाएको सिह बताउछन्। 

भौतिक पूर्वाधार विकास मन्त्रालय सम्मै पुग्छ घुस वापतको रकम   
दुई लाख घुस प्रकरणमा बार्गेनिङका क्रममा सिँचाई डिभिजन कार्यालय कञ्चनपुरकी इन्जिनीयर ग्रिस्मा ठगुन्नाले सेवाग्राहीसंग प्रष्ट भनेकी छन्, ‘हेर्नुस् मन्त्रालय सम्मै भाग दिनुपर्छ, तपाईले २५ लाखको यो योजनामा १५ प्रतिशत दिए मात्र भुक्तानी मिल्छ नभए म रोक्का गरिदिन्छु।’ यो भनाईले स्पष्ट हुन्छ की विभिन्न योजनामा यसरी असुलेको रकम डिभिजन कार्यालयका कर्मचारीमा मात्र सीमित नभएर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इन्द्रदेव भट्ट सम्म पुग्ने गर्छ।

 स्रोतका अनुसार अहिले कञ्चनपुर मात्र नभएर अन्य जिल्लामा पनि कार्यान्वयनमा रहेका योजनामा भौतिक पूर्वाधार विकास मन्त्रालयले १५–२० प्रतिशत कमिशन असुल्ने गरेको छ। उक्त कमिशन मन्त्री र सचिव हुदै मुख्यमन्त्री सम्म पुग्ने गरेको आरोप लागेको छ। तर भौतिक पूर्वाधार विकास मन्त्रालय भने यो कुरा स्वीकार गर्न तयार देखिदैन्। 

भ्रष्टाचारीलाई ठेगान लगाउन युवा एकजुट हुनुपर्छ – सिंह 
सिँचाई डिभिजन कार्यालय कञ्चनपुरका  प्रमुख  र इन्जिनीयरलाई अख्तियारको कठघरामा उभ्याउन सफल भएका सत्तारुढ दल नेकपा सम्बद्ध युवा संघका केन्द्रीय सदस्य समेत रहेका मिलन सिंहले भ्रष्टाचारीलाई ठेगान लगाउन युवाहरु एकजुट भएर अघि बढ्नुपर्ने बताए। उनले पछिल्लो समय समाजमा भ्रष्टाचार बढ्दै गएकाले युवाहरुले एक भएर प्रतिकारण उत्रिनु आवश्यक रहेको बताए।  

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस