कञ्चनपरको कृष्णपुरमा देखियो साढे तीन सय व्यक्तिमा ‘सिकलसेल एनिमिया’
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकामा साढे चार हजारमा परीक्षण गर्दा साढे तीन सय जनामा सिकलसेल एनिमिया पुष्टि भएको छ।
थारु समुदायमा गत वर्ष र यो वर्ष गरिएको परीक्षणमा साढे तीन सय व्यक्तिमा सिकलसेल एनिमिया पुष्टि भएको हो। कृष्णपुर नगरपालिकाले सिकलसेल एनिमियाको चेक ब्रेक गर्न परीक्षणको अभियान चलाएको छ। थारु समुदायमा देखिने सिकलसेल रोकथाम गर्न नगरपालिकाले निःशुल्क परीक्षणको अभियान चलाएको छ।
शिविर राखेर परीक्षण गरिँदै
कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने थारु समुदायमा देखा परेको सिकलसेलको समयमै निदान गरी सन्तानमा रोग नसरोस भनेर रगत परीक्षणको अभियान चालाइएको कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन बिष्टले बताए। उनले प्रदेश सरकारको सहयोगमा गत वर्ष र यो वर्ष वडा तहमै गएर सिकलसेल परीक्षण गरिएको बताए। ‘कृष्णपुर नगरपालिकाले नियमित कार्यक्रम अन्तर्गत निःशुल्क सिकलसेल परीक्षण शिविर राख्दै आएको छ’, उनले भन, ‘थारु समुदायमा सिकलसेलको पहिचान गरी नियन्त्रणका उपाय पनाउन परीक्षण अभियान चलाइएको हो।’
साढे चार हजारको निःशुल्क परीक्षण
कृष्णपुर नगरपालिकाले गत वर्ष वडा नम्बर ८ र ९ बाहेकमा सिकलसेलको निःशुल्क परीक्षण शिविर राखेको छ। गत वर्ष तीन हजार ६ सयमा परीक्षण गर्दा २५५ जनामा सिकलसेलका लक्षण देखिएका थिए। यो वर्ष आइतवार वडा नम्बर ९ मा ६१२ जनाको परीक्षण गरिएकोमा ५० जनामा सिकलसेल एनिमियाको लक्षण देखिएको छ।
समयमै सिकलसेलको परीक्षण गरी थारु समुदायको आउने पुस्तालाई सुरक्षीत राख्न निःशुल्क सिकलसेल र थालेसिमिया परीक्षण शिविर राखिएको नगर उप–प्रमुख द्रोपती रानाले बताइन्। उनले थारु समुदायको नयाँ पुस्तालाई सिकलसेलबाट बचाउन गाउँमै पुगेर परीक्षण गर्न थालिएको बताइन्। सोमवार कृष्णपुर–८ को विचवा स्वास्थ्य चौकीको शिविरमा ८६८ जनाको परीक्षण गरिएको छ। वडा नम्बर ९ मा ४५ जनामा सिकलसेलको लक्षण देखिएको छ।
कृष्णपुरमा सिकलसेलको त्रास
कृष्णपुर नगर क्षेत्रमा कुल जनसंख्याको ३७ प्रतिशत थारु समुदाय छन्। कैलाली र कञ्चनपुर जिल्लामा थारू समुदायमा मात्रै अहिलेसम्म सिकलसेल देखा परेको छ। थारु समुदायको वंश सुरक्षाका लागि सिकलसेल र थालेसिमिया रोगको परीक्षण र उपचारलाई प्राथमिकतामा राखिएको नगरप्रमुख हेमराज ओझाले बताए। उनले बिरामीका लागि नगरपालिकाले निःशुल्क रगतको समेत व्यवस्था गरेको बताए। ‘कृष्णपुरमा ३७ प्रतिशत जनसंख्या थारु समुदायको छ। यो समुदायमा सिकलसेल थालेसिमिया देखिएको छ।
बिरामी पहिचान गर्न र उपचार सेवा दिन निःशुल्क परीक्षण शिविर सञ्चालन गरिएको हो’, उनले भने, ‘सिकलसेल परीक्षण र उपचारलाई हरेक वर्ष निरन्तरता दिने र रोगको चेन ब्रेक गर्न जनचेतना समेत फैलाउन नगरपालिकाले काम गरिरहेको छ।’ व्यक्तिमा राता रक्त कोष निर्माण हुन नसक्ने अवस्था नै सिकलसेल र थालेसिमिया हो। राना थारु र चौधरी समुदायमा यो रोगको प्रकोप देखिएको छ। थारु समुदायमा रोग पहिचान गरी उपचारात्मक उपाय अपनाउन वडा वडामा गएर स्वास्थ्य परीक्षण गर्न थालिएको नगरपालिकाले जनाएको छ।