सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्रह्मदेव करिडोरमा स्वचालित क्यामेरा जडान गरेर बाघ गणना सुरु

२०८१ पुष १९, ०३:२१ खबर संवाददाता

कञ्चनपुरः चुरे क्षेत्रसँग जोडिएको ब्रह्मदेव करिडोरमा बाघ तथा आहारा प्रजातिको गणना सुरु भएको छ।

शुक्रबारदेखि ब्रह्मदेव करिडोर तथा आसपासका क्षेत्रमा क्यामेरा ट्रयापिङबाट बाघ तथा आहारा प्रजातिको गणना सुरु भएको हो। करिडोरमा पर्ने बेदकोट नगरपालिकाको छेला सव–डिभिजन वन क्षेत्रमा एक जोडी स्वचालित क्यामेरा जडान गरेर गणना सुरु गरिएको हो। करिडोर तथा आसपासका क्षेत्रलाई २ गुणा २ किलोमिटरका ७५ ग्रीड बनाइएका छन्।

क्यामेरा जडान भएको मितिले कम्तीमा १५ राति राखिनेछन्। त्यसपछि क्यामेरा निकालिने सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराइले बताए। महाकाली नदी किनारदेखि लालझाडी मोहोना संरक्षित क्षेत्रसम्म कञ्चनपुर र डडेलधुराको वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिनेछन्। ब्रह्मदेव करिडोर २०१८ र २०२२ को राष्ट्रिय बाघ गणनामा समावेश गरिएको थियो। २०२२ को राष्ट्रिय गणनामा डडेलधुराको परशुराम क्षेत्रमा एउटा बयस्क बाघ देखिएको थियो।

कमेन्ट लोड गर्नुस