सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश सभामा फेरी प्रतिपक्षी दलको अवरोध, सदन १५ गते सम्मका लागि स्थगित

२०७६ असार १२, ०३:२७ खबर संवाददाता

प्रतिपक्षी दलहरुको अवरोधका कारण सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक पनि स्थगित भएको छ। सरकारले प्रस्तुत गरेको बजेटमा असहमति राख्दै आएको प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले आज पनि प्रदेश सभामा नारावाजी गर्दै अवरोध गरेपछि सदन १५ गते सम्मका लागि स्थगित गरिएको हो। असार १ गते बजेट सभामा प्रस्तुत भएपछि अहिले सम्म बजेटमाथिको छलफल समेत सुरु हुन सकेको छैन्। यसअघि तीन पटक प्रदेश सभाको बैठक स्थगित भईसकेको थियो। असार ५ गतेको बैठकमा प्रतिपक्षी सासंदहरुले अवरोध गरेपछि स्थगित भएको प्रदेश सभा बैठक लगातार दुई पटक सूचना टाँसेर स्थगित गरिएको छ।

बितरणमुखी बजेट ल्याएर भ्रष्टाचार बढाउन खोजेको भन्दै प्रतिपक्षी दलहरुले प्रदेश सभामा अवरोध गर्दै आएका छन्। उनीहरुले एक लाख भन्दा कमका झण्डै तीन सय योजना रहेको भन्दै सवै योजना हटाउनुपर्ने, डल्लो बजेट बाँडफाँड गर्नुपर्ने, गौरवका आयोजनाहरुलाई बजेटमा थप्नुपर्ने र अन्य थुप्रै प्राविधिक त्रुटीलाई समेत सच्याउनुपर्ने माग राख्दै आएका छन्। सरकार र प्रतिपक्षीवीच २ दिन छलफल भएपनि त्यस्ले निष्कर्ष निकाल्न सकेको थिएन्। सदनको अवरोध हटाउने बिषयमा सरकार र प्रतिपक्षी बीच भएको छलफलका क्रममा प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुले वार्ताका लागि सरकारले पर्याप्त गृहकार्य नै गर्न नसकेको बताउँदै आएका छन्। 
 

कमेन्ट लोड गर्नुस