सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको भादा थारु होमस्टे महोत्सव आयोजना हुने

२०८१ पुष ६, १०:३९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित भादा गाउँमा थारु होमस्टे महोत्सव आयोजना हुने भएको छ। थारु होमस्टे गाउँ भादाको प्रचारप्रसार एवम् प्रवर्द्धन गर्ने उद्देश्यका साथ थारु होमस्टे महोत्सव आयोजना हुने भएको हो। 

सो महोत्सव यही पुस १७ देखि २१ गतेसम्म आयोजना हुने आयोजक थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

भादामा सन् २०११ बाट होमस्टे सञ्चालनमा छ । होमस्टेको प्रचारप्रसार तथा प्रवद्र्धनका साथ थारु समुदायको संस्कृति, खानपान, भेषभूषा, सीपकला, प्राकृतिक सम्पदाको सदुपयोग एवम् जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताए । महोत्सवमा थारु खानपानका परिकार, थारु सीपकला तथा भेषभूषा, थारु देउथान अवलोकन, लहरुमा गाउँको अवलोकन, थारु सङ्ग्रहालयको अवलोकन, काठे पिङलगायत आकर्षणको रुपमा रहने जनाइएको छ। महोत्सव सम्पन्न गर्नका लागि मूल आयोजक र नौ वटा विभिन्न उपसमिति गठन गरेको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस