सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाबाट चोरी गरिएको मोटरसाइकल खोला किनारमा भेटियो

२०८१ पुष ६, १०:३३ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियाबाट चोरी गरिएको मोटरसाइकल खोला किनारमा फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका–२ खानेपानी नजिकै बस्ने २५ वर्षीय विवेक नागरीको मोटरसाइकल चोरी गरिएको थियो।

उनले आफ्नो घरको आगनबाटै सुदूरपश्चिम प्रदेश ०२–००३ प ३९६८ नम्बरको पल्सर मोटरसाइकल पार्किङ गरी राखेको अबस्थामा चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा निवेदन दिएका थिए। त्यसपछि प्रहरीले खोजीकार्य गरेको थियो। चोरी भएको मोटरसाइकल खोजतलास गर्दै जाने क्रममा प्रहरी टोलीले हिजो (शुक्रबार) उक्त मोटरसाइकल फेला पारेको हो।

हिजो साँझ गोदावरी नगरपालिका–४ स्थित खैराना खोलाको किनारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले सो मोटरसाइकल वेवारिसे अवस्थामा फेला पारेर मोटरसाइकल धनी विवेक नागरीलाई बुझाएको छ। चोरीमा संलग्न व्यक्तिलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन।

मोटरसाइकल चोरीमा संलग्न व्यक्तिको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गंगाबहादुर थापाले बताए। पछिल्लो समय कैलालीमा मोटरसाइकल चोरीका घटना यसैगरी बढ्न थालेको छ।

कमेन्ट लोड गर्नुस