हिउँदमा पनि कर्णाली नदीबाट कटान रोकिएन
टीकापुर: वर्षायाममा मात्र नभएर हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ।
कर्णाली नदीले टीकापुर नगरपालिका–९ फाँटामा कटानी गरिरहेको छ। एक हप्तामा दुई मिटर कटान भएको छ। यसरी कटान हुन थालेपछि स्थानीयले जनप्रतिनीधि गुहार्न थालेका छन्। कटानकै कारण कर्णाली नदीले सत्ती कर्णाली सामुदायिक वन र टीकापुर उद्यानको मन्दिर नजिक कटान हुँदा पानी पस्ने खतरा बढ्दै गएको छ। यसैगरी मोहना नदीले खक्रौलामा कटान भइरहेको छ।
नदी कटान हुन थालेपछि स्थानीयले स्थानीय स्रोतसाधन प्रयोग गरेर कटान नियन्त्रणमा लागेका छन्। साथै पथरैया नदीले डिबीपुर नजिक कटान गरिरहेको छ। टीकापुर उद्यान नजिक करिब पाँच सय मिटर, सत्ती कर्णाली वन नजिक पाँच सय मिटर, फाँटामा तीन सय मिटर, खक्रौलामा एक किलोमिटर र डिवीपुरमा सात सय मिटर नदी किनारा खतरामा छ। यी स्थानमा हिउँदमै नदी नियन्त्रणको काम नभएमा बर्सातमा नदी पस्ने निश्चित छ।
कटान भइरहेका कतिपय स्थानमा बोल्डर हालेर पनि केही हदसम्म कटान रोकिने स्थानीय शेरबहादुर साउँदले बताए। साउँदले वडा नम्बर ६, ७, ८ र ९ त्यसै पनि बाढी प्रभावित क्षेत्र भएकाले हजारौँ बिघा जग्गा डुबानमा पर्दा पनि रोकथामका लागि काम नभएको गुनासो गरे।
स्थानीय समाजसेवी खडक धामीले मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर रणबहादुर रावललाई केही दिन पहिले कटान क्षेत्रमा बोलाएर समस्या देखाएको बताए। यस्तै संघीय सांसद इश्वरीदेवी न्यौपानेलाई पनि समस्या देखाइएको उनले बताए। धामीका अनुसार बास नै नरहने अवस्था हिउँदमा छ भने बर्सातमा कस्तो होला? बिहीबार मात्र सङ्घीय सांसद न्यौपानेले कटान क्षेत्रको अनुगमन गरेका थिए। अनुगमन गर्ने क्रममा सांसद न्यौपानेले भयावह अवस्था रहेको बताउँदै सक्दो सहयोग गर्ने आश्वासन दिए। उनले तत्काल गर्नुपर्ने काम काठमाडौँ जाने बित्तिकै पहल गर्ने बताए।