सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा यथासिघ्र मल ढुवानी गर्न आग्रह, अटेरी गर्ने ठेकेदारलाई कारवाही

२०७६ असार ११, ०३:२२ खबर संवाददाता

सुदूरपश्चिममा यथासिघ्र रासायनिक मलको ढुवानी गर्न कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको केन्द्रिय कार्यालयलाई आग्रह गरिएको छ। आज सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीको अध्यक्षतामा बसेको बैठकले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको केन्द्रिय कार्यालयलाई यथासिघ्र रासायनिक मलको ढुवानी गर्न आग्रह गर्ने निर्णय गरेको हो। बैठकले ढुवानीका लागि अटेरी गर्ने ठेकेदारलाई कारवाही गर्न पनि दुवै कार्यालयले आग्रह गर्ने निर्णय गरेको छ। सुदूरपश्चिममा रोपाईको समय सुरु भईसक्दा समेत मलको अभाव देखिएपछि किसानहरु समस्यामा परेको भन्दै आज बसेको सरोकारवालाको बैठकले रासायनिक मल आपुर्तिका विषयमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र ज्ञान केन्द्रहरुले अनुगमन गर्ने समेत निर्णय गरेको छ।

यस्तै रासायनिक मल विक्री वितरण गर्ने सहकारीले रासायनिक मलको विक्री मूल्य स्थानीयलाई जानकारी दिनुपर्ने, रासायनिक मल तोकिएको मूल्यमा विक्री भए नभएको विषयमा सम्वन्धित स्थानीय सरकारले अनुगमन गर्ने निर्णय समेत आजको बैठकले गरेको छ। आगामी आर्थिक बर्षमा धनगढीका गोदाममा समयमै रासायनिक मलको मौज्जात राख्न आवश्यक नीति बनाउने निर्णय समेत गरेको मन्त्रालयका कृषि महाशाखा प्रमुख यज्ञराज जोशीले बताए।

आजको बैठकमा मन्त्री चौधरी सहित जिल्ला समन्वय समितिका सभापति सुर्यवहादुर थापा, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, मन्त्रालयका निमित्त सचिव खगेन्द्र शर्मा, कृषि महाशाखा प्रमुख जोशी, कृषि सामाग्री कम्पनी लिमिटेड धनगढी र साल्ट ट्रेडिङ धनगढीका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। सरोकारवाला निकायको उदासिनताका कारण वर्षेनी प्रदेशमा आवश्यकताको ४० प्रतिशत मात्र मलको उपलव्धता हुँदै आएको छ। यसअघि यस क्षेत्रका सहकारीहरुले मलको सहज आपूर्तीको व्यवस्था मिलाउन माग गर्दै तीन दिने अल्टिमेटम दिएका थिए। 
 

कमेन्ट लोड गर्नुस