सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहजपुर–बोगटान सडक मर्मतमा राजनीति, कांग्रेसी अध्यक्षले पठाएनन् स्काभेटर

२०८१ पुष ३, ११:२० कमल सावद

धनगढीः डोटीको गाणेँबाँझदेखि केदारमाणुसम्मको सडकको लम्बाइ झण्डै २८ किलोमिटर छ।

डोटीको बडिकेदार गाउँपालिका–५ लाना क्षेत्रमा पर्ने उक्त सडकमा यात्रा गर्न निकै कस्टपूर्ण छ। सङ्घीय सरकार मातहतको सहजपुर–बोगटान सडकको लाना क्षेत्र मर्मतमा तीन वटै तहका सरकारहरुले ध्यान दिएका छैनन। सडक मर्मतमा वास्ता नगरेको बडिकेदार गाउँपालिकाले उल्टै राजनीति गर्ने गरेको गुनासो गरिएको छ। गाउँपालिकाको जिसीबी हुँदा पनि उक्त क्षेत्रको सडक मर्मतका लागि नदिएको गुनासो वडाध्यक्षको छ।

नेपाली कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष भैरव साउँदले एमाले विजयी वडामा सडक मर्मतका लागि जिसीबी पठाउन मानेका छैनन। डोटीको बडिकेदार गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर बोहराले सडक मर्मतको काम नभएकाले सबसेवा बन्द भएको बताए। उनले भने, ‘आफ्नो गाउँपालिकाको स्काभेटर हुँदाहुँदै पनि प्रयोग गर्न दिएनन। जिसीबी गएको हो। दशैँको समयमा स्काभेटरले सफा गर्ने कुरा भएको हो।

जिपहरुको लागि मात्र काम भएको छ। शाखा सडकहरु सफा गरिएको छ। मुख्य सडक सफा गरिएको छैन। बसका लागि स्काभेटर चाहिने भएको छ।’ सहजपुर–बोगटान सडकको लाना क्षेत्रमा साँघुरो र जोखिमयुक्त सडकका कारण बस सञ्चालनमा छैनन। सहजपुर–बोगटान सडक योजना कार्यालयले ट्याक निर्माण गरेपछि बोगटान–फुट्सील गाउँपालिकाको छिडिखानसम्म बस पुगेको थियो।

तर, बर्सातपछि खराब भएको सडक मर्मत नगरेकाले लानाको अत्तरकाडादेखि धारीसम्मको सडकमा सबै भन्दा बढी जोखिम रहेको छ। बडिकेदार गाउँपालिका–५ को वडा कार्यालय रहेको क्षेत्र रन्तोलासम्मको सडक सबै भन्दा बढी खराद छ। रन्तोला र केदारमाणु क्षेत्रमा सडकका मोडहरुमा जिप पनि चलाउन समस्या हुने गरेको छ। बोहराले भने, ‘वडाको बजेट २४ लाख मात्र हो। २४ लाखले मुख्य बाटो पनि सफा हुँदैन। आफ्नो स्काभेटर दिदैनन।

सबै बजेट लगाउदा पनि बाटो सफा गर्न सक्दैनन। म फरक पार्टीको भएकाले असहयोग गरेका हुन।’ गाँणेबाँझदेखि १७ किलोमिटर क्षेत्रमा मात्र सडक मर्मत भएमा सहज हुने उनले बताए। डोटीको बडिकेदार गाउँपालिका क्षेत्रको कालोपत्र सडकमा जम्मा भएको माटो र ढुङ्गाहरु प्रदेश सरकारले जिसीबी प्रयोग गरेर हटाएको छ। बडिकेदारको धार्मीक मेलाका लागि मात्र सडक मर्मत गरिएको हो।

अत्तरकाँडादेखि केदारमाडुसम्मको क्षेत्रमा भने मर्मत नगरिएको हो। सडक खराब भएकाले धनगढीदेखि मार्कोटसम्म मात्र बस सेवा सञ्चालन गरिएको छ। लाना क्षेत्रमा सडक खराब भएकाले बस सेवा समेत बन्द भएको हो। तर, बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरव साउँदले बजेट अभावका कारण सडक मर्मत गर्न नसकिएको बताए। उनले भने, ‘प्रदेशले मर्मत गर्दै आएको हो। यो पटक पनि प्रदेशले पहिरो हटाएको थियो।

तर, केदारसम्मको बाटो मात्र मर्मत गरिएको छ। उहाँहरुले बजेट छैन भन्नु भयो। कार्यपालिकाको बैठक छ। जिल्ला समन्वय र पालिकाको निर्णयसहित माग गर्छाै।’ डोटीको बडिकेदार गाउँपालिकाले सडक मर्मतमा ५० लाख बजेट विनियोजन गरेको छ। तर, शाखा सडकहरुको बर्सातको पहिरोहरु हटाएकाले बजेट सकिएको अध्यक्ष साउँदले बताए। शाखा सडकहरु मर्मतमा पालिकाको बजेट सकिएकाले मुख्य सडक मर्मतमा समस्या भएको उनले बताए। सहजपुर–बोगटान सडकको ५० किलोमिटर सडक कालोपत्र गरिएको छ। संघीय सरकारले थप २४ किलोमिटर कालोपत्रका लागि प्रक्रिया थालेको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस