सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा यो वर्ष थप ९८ जनालाई अपाङ्गता सहायता सामग्री वितरण गरिँदै

२०८१ मंसिर २९, ०९:३० नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले यो वर्ष पनि अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण गर्ने भएको छ।

आर्थिक वर्ष २०७९/८० मा १८९ जना अपाङ्गता भएका व्यक्तिलाई खोजीखोजी सहायता सामग्री दिएको उपमहानगरले गत वर्ष १९६ जनालाई सामग्री प्रदान गरेको थियो। यो वर्ष फूलबारी, उर्मा, जुगेडा, बेला र उपमहानगरपालिका परिसरमा स्क्रिनिङ क्याम्प लगाएर अपाङ्ता सहायता सामग्री आवश्यक पर्ने व्यक्तिको पहिचान गरिएको महिला विकास अधिकृत पंकजा जोशीले बताइन्।

उनले यो वर्ष पनि थप ९८ जनालाई अपाङ्गता सहायता सामग्री वितरण गरिने बताइन्। ‘आर्थिक वर्ष २०७९/८० मा १८९ जनालाई सहयोगी सामग्री वितरण गरेको उपमहानगरले गत वर्ष १९६ जनालाई सामग्री प्रदान गरेको हो,’ उनले भनिन्। ‘यो वर्ष १४३ जनाको परीक्षण गरेर ९८ जनालाई सहायता सामग्री दिन लागिएको छ।

व्यक्तिको आवश्यकताको आधारमा यो पटक पनि एकभन्दा बढी सहयोगी सामग्री वितरण गरिने छ।’ मंसिर २३ गते फूलबारीमा वडा नम्बर १४, १८ र १९ मा स्थायी बसोबास भएका २० जना अपाङ्गता भएका व्यक्तिको स्क्रिनिङ गरिएको छ। यस्तै, २४ गते उर्मा स्वास्थ्य चौकीमा वडा नम्बर १५, १६ र १७ का ५५ जनाको परीक्षण गरिएको छ।

यसैगरी, २५ गते जुगेडा क्लस्टरमा ९, १० र १२ का २६ जना, २६ गते बेला क्लस्टरमा ६, ११ र १३ नम्बर वडाका १४ र धनगढी क्लस्टरमा बाँकी वडाका २८ जना अपाङ्गता भएका व्यक्तिको परीक्षण गरिएको महिला विकास अधिकृत जोशीले बताइन्। अपाङ्गता सहायता सामग्री वितरण गर्न धनगढी उपमहानगरपालिकाले यो वर्ष २५ लाख बजेट छुट्याएको छ।

परीक्षण सक्किएसँगै चैत बैशाखमा परीक्षण गरिएकै स्थानमा अपाङ्गता सहायता सामग्री वितरण गरिनेछ। अपाङ्गता भएका व्यक्तिको पहुँच बढाउन र जीवनयापन सहज बनाउन उपमहानगरपालिकाले हरेक वर्ष अपाङ्गता भएका व्यक्तिहरुलाई खोजीखोजी सहायता सामग्री वितरण गर्ने जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस