सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुष्ठरोग नियन्त्रण प्रभावकारी बनाउन नयाँ अभियान सञ्चालन

। फोटो स्रोत ।
२०७६ असार १०, ०४:५०

कुष्ठरोग नियन्त्रण प्रभावकारी बनाउन सरकारले नयाँ अभियान अघि सारेको छ। देशका विभिन्न जिल्लामा नमूनाका रूपमा कार्यान्वयनमा आएको उक्त अभियान यस वर्षदेखि बाँके र बर्दियामा पनि सञ्चालन भएको छ। कुष्ठरोग नियन्त्रणका लागि सरकारले वर्षौँदेखि ठूलो रकम खर्चिँदै आए पनि सङ्क्रमितको दर निरन्तर उस्तै देखिएपछि नयाँ अभियान थालिएको अभियानमा प्राविधिक सहयोग गरिरहेको अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था, दामियन फाउण्डेशनका नेपाल प्रतिनिधि डा सुशील कोइरालाले जानकारी दिए। 

उनले भने, ’पूर्वका तीन जिल्लाबाट पाइलट प्रोजेक्टका रूपमा शुरु भएको यो परियोजना यस वर्षदेखि बाँके र बर्दियामा पनि कार्यान्वयनमा आएको हो’, ’यो नयाँ अभ्यासले कुष्ठरोग पूर्णतः नियन्त्रणमा आउने विश्वास लिइएको छ।’ तराईका जिल्लामा कुष्ठरोगको समस्या निरन्तर देखापरेपछि सरकारले नयाँ ढङ्गले सोचेको उनले बताए। उनका अनुसार सङ्क्रमितसँग नियमित सम्पर्कमा आउने कम्तीमा ३० जनालाई औषधि खुवाइनेछ। यसमा परिवारका सबै सदस्य, विद्यार्थी भए साथी, शिक्षक र छिमेकी परिवारका सबै सदस्य हुनेछन्। 

बाँकेमा स्वास्थ्य एकाइलाई प्राविधिक सहयोग गरिरहेको टिबी नेपालका क्लिनिक इन्चार्ज हिक्मत खड्काले ’सातामा २० घण्टाभन्दा बढी समय सङ्क्रमितसँग बिताउने जो कसैलाई पनि यो औषधि अनिवार्य गरिएको बताउंदै उनले भने, ’त्यसका लागि संवेदनशील विधि अपनाइएको छ, यो विधि प्रभावकारी हुनेमा हामी पनि विश्वस्त छौँ।’बिरामीले नियमित औषधि खाएर ठीक भए पनि उसको सम्पर्कमा रहेको अर्को व्यक्तिमा सङ्क्रमणको आशङ्काले सरकारले रिफाम्पिसिन नामक औषधि खुवाउने भएको हो। उनले भने, ’बर्दियामा शुरु भइसकेको छ’, ’बाँकेमा यसैसाताबाट यो अभियान शुरु हुँदैछ।’ बाँकेमा ४०० बढी मूल बिरामीको सम्पर्कमा रहने थप ३० जनालाई औषधि खुवाइने छ।

जिल्लास्थित स्वास्थ्यकर्मी र गाउँटोलका महिला स्वास्थ्य स्वयंसेविकामार्फत २०७३ साउनयता उपचारमा रहेका सबै बिरामी तथा उनको सम्पर्कमा रहेका कम्तीमा ३० जनालाई औषधि खुवाउने अभियान शुरु गर्न लागिएको हो। त्यस हिसाबले बाँकेमा मात्रै १२ हजार बढीलाई यस वर्ष औषधि खुवाइनेछ। सोही अभियानअन्तर्गत कोहलपुर वडा नं १४ र १५ का स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई टिबी नेपाल र दामियन फाउण्डेशनले अभिमुखीकरण गरिसकेको छ। खड्काले भने, ’अब स्वास्थ्यकर्मी र स्वयंसेविकाले घरघर पुगेर बिरामी र उनको सम्पर्कमा रहनेलाई औषधि खुवाउनुहुनेछ।’ 

बिरामीलाई गोप्य राखेर औषधि खुवाउने अभियान चलाइने स्वास्थ्यचौकी शम्शेरगञ्जले जनाएको छ। कोहलपुर १४ र १५ को केन्द्रका रूपमा रहेको शम्शेरगञ्जबाट २०७३ यता १६ ले कुष्ठरोगको उपचार गराइरहेका छन्। मुलुकभर प्रति १० हजारमा एक जनामा कुष्ठरोगको सङ्क्रमण देखिए पनि तराईमा समस्या बढी रहेको सरकारी तथ्याङ्कले जनाएको छ। 

’वर्षेनी तीन हजारको सङ्ख्या नघटेपछि अभियानको प्रभावकारिता खोजिएको हो’, क्षय तथा कुष्ठरोगका क्षेत्रमा कार्यरत टिबी नेपालका क्लिनिक इन्चार्ज खड्काले भने। नेपाल सरकारले निजी क्षेत्रसँगको साझेदारीमा अभियान सञ्चालन गरेको हो। रासस

कमेन्ट लोड गर्नुस