सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले पर्यटन वर्ष २०२० का लागि कम बजेट विनियोजन गर्यो : अर्थमन्त्री खतिवडा

। फोटो स्रोत ।
२०७६ असार १०, ०४:३७

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पर्यटन बोर्ड र स्थानीय तहबाट पनि पर्यटन वर्षका लागि खर्च गरिने भएकाले सरकारले पर्यटन वर्ष २०२० का लागि कम बजेट विनियोजन गरेको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक अन्तरगत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय शीर्षकहरुमाथिको छलफलमा सांसदहरुले राखेको प्रश्नको प्रधानमन्त्रीको तर्फबाट जवाफ दिँदै अर्थमन्त्री खतिवडाले पर्यटन वर्षका लागि १ अर्बभन्दा बढी लगानी गर्नसक्ने क्षमतामा पर्यटन बोर्ड रहेकाले सरकारले पर्यटन क्षेत्रको विनियोजन त्यसै अनुसार कम राखिएको बताए। यस्तै स्थानीय तहले पनि पर्यटन क्षेत्रमा बजेट छुट्याउने गरेकाले संघीय सरकारले पर्यटन वर्ष २०२० का लागि धेरै बजेट नराखेको उल्लेख गरे।

सांसदहरुले भ्रमण वर्षका लागि विनियोजन गरिएको रकम कम भएको भन्दै त्यसबारे मन्त्रीको जवाफ माग गरेका थिए। उनले प्रदेशमा बनाउने विमानस्थल बारेमा दुविधा रहेकाले सरकारले हवाइ पूर्वाधारको रणनीति बनाउन लागेको र त्यसको आधारमा अन्तराष्ट्रिय, क्षेत्रीय र आन्तरिक उडानका लागि विमानस्थल बनाउने भन्नेबारे निर्णयमा पुगिने स्पष्ट पार्दै एउटा प्रदेशमा तीन वटा अन्तराष्ट्रिय विमानस्थलको कुरा संसदमै उठिरहेको भए पनि विमानस्थलको निर्माणको आधार तयार हुन नसकेकाले हवाइ पूर्वाधार रणनीति तय भएपछि यसबारे थप काम अघि बढाइने बताए।

आन्तरिक विमान भाडा स्वदेशी र विदेशीलाई भिन्न भएको भन्ने सन्दर्भमा सरकारको नीति अनुसार नै नेपालीलाई अनुदान अनुसार प्राथमिकतामा राख्ने काम गरिएको पनि स्पष्ट पारे।

कमेन्ट लोड गर्नुस