सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुवै स्तनमा ट्युमर भएकि एक किशोरीको बिनाशल्यक्रिया नयाँ प्रविधिबाट उपचार

२०७६ असार १०, ०३:५०

दुवै स्तनमा ट्युमर भएकि एक किशोरीको बिनाशल्यक्रिया नयाँ पविधिबाट सफल उपचार गरिएको छ। नेपाल मेडिसिटी अस्पतालमा १६ वर्षीया युवतीको दुवै स्तनमा रहेको ट्युमरको बिनाशल्यक्रिया नयाँ प्रविधिबाट सफल उपचार गरेको हो। किशोरीको दुवै स्तनमा रहेको ट्युमरलाई ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया’बाट सफल उपचार गरिएको हो।

अस्पतालका वरिष्ठ सर्जन डा सुनिल कुमार शर्मा ढकाल, इन्टरभेन्सन रेडियोलोजिष्ट डा ओम बिजु पन्त र डा विवेक गुरुङ्ग तथा एनेस्थेसियोलोजिष्ट डा अपुर्व शर्माको टोलीले यो प्रक्रियाबाट उनको उपचार गरेका हुन्। उपचारमा संलग्न डा पन्तका अनुसार १६ वर्षीया किशोरीको बाँया स्तनमा ३ र दायाँ स्तनमा ४ स्थानमा फाइब्रोडेनोमा अर्थात ट्युमर रहेको थियो। साधारणतया महिलाहरुको स्तनमा देखिने क्यान्सर रहित ट्युमोरलाई फाइब्रोडेनोमा भन्ने गरिन्छ। 

‘सम्भवतः स्तनको ट्युमरका लागि भएको यो उपचार पद्धती नेपालमा पहिलो हो,’ उनले भने, ‘३ देखि ५ सेन्टिमिटर आकारका ट्युमरको उपचार यो विधिबाट गर्न सकिन्छ।’ उनका अनुसार मांसपेशी मात्र लठ्ठाएर गरिएको यस माइक्रोवेभ एब्लेसनले शरिरमा दाग नपार्ने र एकैपटकमा धेरैवटा ट्युमरको उपचार गर्न सकिन्छ। माइक्रोवेभ एब्लेसन एक यस्तो प्रविधि हो जसले कलेजो, फोक्सो, थाइरोइड ग्रन्थी, स्तन तथा हड्डी लगायतका स्थानका ३ देखि ५ सेन्टिमिटरको आकारमा रहेको ट्यूूमरको उपचार गर्न सक्छ। अस्पतालमा तीन साताअघि यही प्रविधिमार्फत फोक्सोमा रहेको ट्युमरको सफल उपचार गरिएको थियो। 

डा पन्तले भने, ‘सामान्यतया एब्लेसन भन्ने बित्तिकै तातो, चिसो या कुनै औषधि ट्युमर भएको ठाँउमा राखेर मार्ने पद्धति हो, यो प्रक्रियामा ट्युमर सेल त्यहि मर्छ, मरिसकेको सेललाई शरिरले सोस्ने गर्छ, यसरी उपचार पछि सम्भवतः ट्युमरको समस्या देखिदैन।’ उनका अनुसार यस पद्धतिमा चिरेर गर्नुपर्ने शल्यक्रियाको आवश्यकता पर्दैन। यसमा सुईको प्रयोगबाट निराकरण गर्न सकिन्छ। अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुसार सानो खालको ५ सेन्टिमिटर आकारसम्मका ट्युमरको यो पद्धतिबाट उपचार गर्न सकिन्छ।

शल्यक्रियाको राम्रो विकल्प भएकाले बिरामीलाई सजिलो र छिटो निको हुनुमा सहयोग पुग्ने गर्छ। एनेस्थेसिया नलागाएरै पनि बिरामीको उपचार हुने हुँदा यो धेरै नै प्रभावकारी छ। एब्लेसन गरिसकेपछि बिरामीलाई एकरदुई दिन सामान्य दुखाइ हुने र कहिलेकाँहि ज्वारो आउने हुन्छ। यो उपचार विधि त्यति लामो नभएको र बिरामीलाई धेरै दिनसम्म अस्पतालमा राख्नु नपर्ने भएको कारणले पनि झनझटिलो छैन।
 

कमेन्ट लोड गर्नुस