सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यावसायिक लिची खेतीतर्फ किसानहरु आकर्षित

। फोटो स्रोत ।
२०७६ असार १०, ०२:४६

आम्दानी राम्रो हुने भएपछि पाल्पाका किसानहरु व्यवसायीक लिची खेतीतर्फ आकर्षित बनेका छन्। स्थानीयस्तरबाट प्रतिकिलो लिचीलाई रु ६० मा खरीद बिक्री हुँदै आएको छ। लिची खेतीबाट राम्रो आम्दानी गर्न सफल बनेपछि पाल्पा रम्भा गाउँपालिका–१ हुँगीका किसान अहिले लिची खेतीप्रति थप आकर्षित बन्दै गएका हुन्।

रम्भा गाउँपालिका–१ हँगीबाट मात्र यस आवमा रु २६ लाखको लिची गाउँबाट बाहिर निकासी भएको छ। गाउँमा उत्पादित लिची पाल्पाका स्थानीय बजारदेखि पोखरा, बुटवल क्षेत्रमा बढी खपत हुने व्यवसायी दिनेश अर्यालले बताए।

गाउँमा उत्पादित लिची रु ५० हजारदेखि चार लाखसम्म आम्दानी हुन्छ। स्थानीय बासिन्दा अर्जुनदेव पन्त, गङ्गा पछाईलगायतका युवाले गाउँमा लिची खेतीबाट यो वर्ष मात्र रु चार लाख आम्दानी गर्न सफल भएका छन्। उनीहरु मात्रै नभइ पाल्पाका ४० देखि ५० घर परिवारले रु ५० हजारभन्दा बढी आम्दानी लिन्छन्।

लिचीभित्रका दाना साना, बोक्रा पातलो र लिचीको भाग बढी हुँदा पाल्पाको लिची राम्रो मानिएको स्थानीय यमबहादुर नेपालीले बताए। उनले भने, लिची रोपेको दुई वर्षमा उत्पादन दिने गर्छ। मल, पानी राम्रोसँग व्यवस्थापन हुन सकेको अवस्थामा पाँच वर्षको अवधिमा एउटा रुखबाट वार्षिक रु १० हजार आम्दानी दिने किसानको भनाइ छ। 

चिस्यान केन्द्र स्थापना गर्न सकेको अवस्था लिची टिपेर भण्डार गर्न सकिन्छ। भण्डार गरेका लिची आवश्यकअनुसार बजारमा पठाउन सकेको अवस्थामा किसानलाई राम्रो आम्दानी हुने देखिन्छ। रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार लिची खेतीलाई थप प्रोत्साहन गर्न गाउँपालिकाले नीति नै बनाउन लागेको छ। भण्डारीले भने, ‘व्यावसायिक किसानलाई ८० प्रतिशत गाउँपालिनको अनुदान र २० प्रतिशत किसानको सहयोगमा २० हजार बिरुवा वितरण गर्ने तयारीमा रहेका छौँ।’ 

जसले फलफूल खेती नै गरेको छैन, तिनीहरुका लागि निःशुल्क लिची, कागती, सुन्तला वितरण गरी व्यावसायिक फलफूल खेती गरी आम्दानी लिन सक्ने छन्। गाउँपालिकाले आगामी आवमा लिची पकेट क्षेत्र घोषणा गर्ने तयारीमा रहेको छ। लिची पकेट क्षेत्रमा एक घर एक लिची कार्यक्रम, सुन्तला उत्पादन हुने क्षेत्रमा एक घर एक सुन्तलाका बिरुवा रोप्नुपर्ने नीति ल्याउने अध्यक्ष भण्डारीले बताए।      

कमेन्ट लोड गर्नुस