सुदूर नेपाललाई विश्वसँग जोड्दै

आलुको चिप्स बनाउने उद्योग सञ्चालन हुने

। फोटो स्रोत ।
२०७६ असार १०, ०२:१४

काभ्रेपलाञ्चोकमा आलुको चिप्स वनाउने उद्योग सञ्चालन हुने भएको छ। जिल्लाको बनेपा नगरपालिका–५ घोकेचौरमा आलुको चिप्स बनाउने उद्योग सञ्चालन हुने भएको हो। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ आलु सुपरजोन बनेपाको अनुदानमा कृषक इच्छाराम दाहालले सो उद्योग सञ्चालन गर्न लागेका हुन्। आलुको मूल्य बढाउने उद्देश्यले उद्योग सञ्चालनमा सहयोग गरिएको आलु सुपरजोन बनेपा कार्यालयका प्रमुख वरिष्ठ कृषि अधिकृत दीपक पौडेलले बताए। आलु प्रशोधन गरेर विभिन्न परिकार बनाउन सकियो भने किसानलाई फाइदा पु¥याउन सकिन्छ भन्ने उद्देश्यले आलु चिप्स कारखाना खोल्न अनुदान सहयोग गरेको उनको भनाइ थियो।

उत्पादित आलु सिधै बेच्नुभन्दा चिप्सलगायतका विभिन्न परिकार बनाएर बेचेमा बढी फाइदा हुने उनको भनाइ छ। आलु सुपरजोन कार्यालयको अनुदानमा उद्योग सञ्चालकले चिप्स बनाउने मेशिनरी सामान खरीद गर्नुपर्ने हुन्छ। उनले भने, “आवश्यक टहरा बनाउने सञ्चालको काम हो।” “आलुलाई पखाल्ने, चना पार्ने, पकाउने र प्याकिङ गर्ने औजार खरीदका लागि भने सुपरजोनले सहयोग गरेको छ।” उत्पादनसँगै औद्योगिक क्षेत्रका रुपमा विकास गर्न सकेमा आलु उत्पादन गर्ने किसानले फाइदा लिन सक्ने कार्यालयले जनाएको छ।         

उद्योगका सञ्चालक दाहालले सुपरजोन आलु कार्यालय र मेडपा नामक संस्थाले दिएको तालिकाका आधारमा आफूले उद्योग सञ्चालन गर्न लागेको बताए। त्यसका लागि आवश्यक मेशिनरी सामान जुटाइरहेको र अब छिट्टै सञ्चालन हुने उनले बताए। उद्योग सञ्चालनमा आएसँगै बजारीकरणलाई जोड दिने र ब्राण्डका रुपमा नै विदेश निर्यात गर्ने उद्देश्यले नै उद्योग स्थापनामा जुटेको उनको भनाइ थियो।   

सुपरजोनले आलुको बीउ भण्डारण केन्द्र ‘रष्टिक स्टोर’ निर्माणको काम भइरहेको जनाएको छ। त्यसका लागि चिसो ठाउँ आवश्यक भएको हुनाले बेथानचोकको ढुङ्खर्क र बनेपा नगरपालिका–३ काशीभञ्ज्याङ गरी दुई ठाउँमा बीउ भण्डारण केन्द्र बनाउने काम भइरहेको छ। जसको क्षमता दश मेट्रिक टन हुनेछ । त्यसका लागि बीस÷बीस लाखको अनुदान प्रदान गरिएको जनाइएको छ। त्यसमा समूहले १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ।     

साना सिँचाइ, भकारो सुधारलगायतका काममा सहयोग गर्दै आएको सुपरजोन कार्यालयले जनाएको छ। काभ्रेपलाञ्चोकमा आर्थिक वर्ष २०७३÷७४ देखि आलु सुपरजोन कार्यालय स्थापना गरी काम भइरहेको छ। रासस

कमेन्ट लोड गर्नुस