सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा विमानस्थल पुनःनिर्माणको काम अगाडि बढाउन माग

२०८१ मंसिर १५, ०४:२५ खबर संवाददाता

कञ्चनपुरः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीलाई जिल्लाको मझगाउँ विमानस्थल पुनःनिर्माणको काम अगाडि बढाउन माग गर्दै ध्यानाकर्षणपत्र बुझाइएको छ।

विमानस्थल पुनःसञ्चालन समिति कञ्चनपुरका पदाधिकारीले उनलाई ध्यानाकर्षणपत्र बुझाएका हुन्। वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)का लागि वन तथा वातावरण मन्त्रालयले सहमति नदिँदा विमानस्थल पुनःनिर्माणमा ढिलाइ भरहेको भन्दै सो कार्य तत्काल अगाडि बढाउन आग्रह गरिएको कञ्चनपुर होटल व्यवसायी सङ्घका पूर्वअध्यक्ष परमानन्द भण्डारीले बताए। ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री शाहीले निर्माण कार्यमा देखिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए।

यसअघि उनले विमानस्थलको पुनःनिर्माण भइरहेको धावनमार्ग, एप्रोन, कार पार्किङ, नालासहितको कामको अनुगमनसमेत गरेका थिए। २०२४ सालमा निर्माण भएर २०५६ सालसम्म विमानस्थल सञ्चालनमा रहेको थियो। विमानस्थल पुनःसञ्चालन गर्न २०७७ फागुन ३ गते पर्यटन मन्त्रालयमा भएको सहमतिअनुसार ५० प्रतिशत सङ्घीय, २५ प्रतिशत प्रदेश सरकार, १५ प्रतिशत भीमदत्त नगरपालिका र १० प्रतिशत दोधारा–चाँदनी नगरपालिकाले बेहोर्ने सहमति भएको थियो। सम्झौताअनुसार ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भइसकेको छ तर हालको क्षेत्र विस्तार गर्न दक्षिणतर्फ ६ सय ६५ मिटर थप्ने घोषणा गरिएको थियो।

कमेन्ट लोड गर्नुस