धनगढीमा २ बिघा क्षेत्रफलमा मेवा फलाउँदै अछामका युवक रोशन
धनगढीः अछामका युवक रोशन साउँदले कैलालीको धनगढीमा दुई बिघा क्षेत्रफलमा मेवा खेती सुरू गरेका छन्। गत वर्षबाट पुष्पखेती गर्न धनगढी आएका साउँदले धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटानमा जमिन लिजमा लिएर मेवाखेती सुरू गरेका हुन्।
कपिलवस्तु, दाङ र कोहलपुरमा समेत फार्म खोलेर व्यावसायिक रुपमा कृषिमा लागेका रोशनले दुई जना साझेदारसँगै मिलेर धनगढीमा १०८ दि डिभाइन एग्रो फार्म सञ्चालन गरेका हुन्। साउँदले दुई बिघा क्षेत्रफलमा सयपत्री रोप्दा मेवाको बोट समेत रोपेका हुन्। अहिले उनको बारीमा मेवा लटरम्म फलेका छन्। कृषि फार्ममा साउँदले मेवासँगै स्ट्रबेरी खेती गर्ने योजनासमेत बनाएका छन्।
घुसुवा बालीको रुपमा मेवा खेती
साउँदसँगै कपिलवस्तुका भास्कर पङ्गेनी र अछामकै दशरथ साउँदले व्यावसायिक रुपमा मेवाखेती सुरू गरेका छन्। १०८ दि डिभाइन एग्रो फार्म खोलेर साउँदद्वय र पङ्गीनीको समूहले पुष्पखेतीसँगै मेवा उत्पादन गर्ने जमर्को गरेका छन्। असार/साउनमा सयपत्री रोप्ने बारीमा उनीहरूले गएको जेठमा मेवा रोपेका हुन्। सयपत्री दशैं तिहारमा बिक्री भएको छ भने बारीमा अहिले लटरम्म फलेको मेवाका बिरुवा देख्न सकिन्छ।
बारीमा तीन किसिमको मेवा हुर्किरहेको रोशनले बताए। उनले गएको जेठमा सयपत्रीसँगै घुसुवा बालीको रुपमा मेवा लगाएको बताए। ‘सयपत्रीसँगै घुसुवा बालीको रुपमा मेवा पनि लगाएका हौँ। यो हाम्रो पहिलो प्रयोग थियो धनगढीमा। र, प्रयोग सफल भएको छ’, उनले भने, ‘अहिले बारीमा रेड लेडी, रेड बेबी र रेड रोयल जातको मेवा हुर्किरहेको छ। राम्रै फलेको छ।’
पुस/माघमा मेवा बजारमा आउने
बङ्ग्राकटानमा दुई बिघा जग्गा लिजमा लिएर व्यावसायिक कृषि गर्न तम्सिएको साउँदको समूहले यो वर्ष दुई हजार ५ सय मेवाका बिरुवा रोपेको हो। थोपा सिँचाइको व्यवस्थापन गरेर मेवा हुर्काइरहेका उनीहरूले पुस÷माघमा यो वर्ष फलेको मेवा बजारमा पठाउने तयारी गरेका छन्। २५ सय बिरुवा मध्ये खेतमा पानी जमेका कारण केही बिरुवा मरे पनि जिवित बिरुवामा मेवा राम्रै फलेको साउँदले बताए।
‘हामीले घुसुवा बालीको रुपमा मेवा फलाउने पहिलो प्रयोग गरेका हौँ। पहिले प्रयास सफल भएको छ। जसबाट हामी उत्साहित भएका छौँ’, उनले भने, ‘पुस/माघमा मेवा बजारमा पठाउन तयार हुन्छ। बजार राम्रो पायो भने अर्को वर्षबाट थप क्षेत्रफलमा मेवा खेती गर्ने योजना छ।’
धनगढीमा स्ट्रबेरी पनि फलाइने
परीक्षणका रुपमा मेवा खेती सुरू गरेको बताउने साउँदले मेवा राम्रोसँग हुर्काउन सकिएकाले यो वर्ष राम्रो उत्पादन हुने बताए। सयपत्रीसँगै मेवाखेती गरेका साउँदले मेवासँगै घुसुवा बालीको रुपमा स्ट्रबेरी लगाउने योजना बनाएका छन्। धनगढीमा स्ट्रबेरी उत्पादन गर्ने योजना सफल हुने उनको विश्वास छ।
उनले धनगढीसहित कृषि फार्म रहेको अन्य तीन स्थानका लागि एक लाखभन्दा बढी स्ट्रबेरीको बेर्नाको व्यवस्था गरेको बताए। मंसिर भित्रै लगाएको स्ट्रबेरी फागुन चैतसम्म फल्ने साउँदले बताए। कृषि प्राविधिकसमेत रहेका रोशनले धनगढीमा घुसुवा बालीको रुपमा मेवा र स्ट्रबेरी फलाउने प्रयोग सफल हुने दाबी गरेका छन्। गत वर्षसमेत स्ट्रबेरी फलाएका उनले यो वर्ष वृहत रुपमा स्ट्रबेरी रोप्ने योजना बनाएका छन्।