धनगढीको विकट डमौलिया गाउँ शिवगंगा नदी कटानको उच्च जोखिममा
धनगढीः कैलालीको धनगढीस्थित डमौलिया गाउँमा पुरनसिंह देउवाको परिवार २८ वर्षदेखि बसोबास गर्दै आएको छ।
उनको परिवार २०५६ सालमा धनगढी उपमहानगरपालिका–१७ डमौलीया गाउँ आएको हो। शिवगंगा नदीको पूर्वतिरको डमौलिया गाउँमा उनको परिवार बसोबास गर्दै आएको छ। उनको परिवारले डमौलिया गाउँमा बसोबास थालेको समयमा शिवगंगा नदी पश्चिम क्षेत्रमा बग्ने गरेको थियो। तर, पछिल्ला वर्षहरूमा शिवगंगा नदीले पूर्वी अर्थात खेती गर्दै आएको जमिन कटान गर्न थालेको छ।
गत दुई वर्षमा मात्र नदीले झण्डै २ बिघा जमिन एकै व्यक्तिको बगाएको छ। देउवाले भने, ‘पछिल्ला २ वर्षमा बढी बगाएको छ। यो वर्ष बढी बगायो। पहिला नदी पारी थियो। अहिले यता आएको हो।’ धनगढीको डमौलिया गाउँको पश्चिम–दक्षिण क्षेत्रको भागमा नदीले कटान गर्न थालेपछि उपमहानगरपालिकाले तटबन्ध निर्माण गरेको छ। तीन ठाउँमा उपमहानगरपालिकाले तटबन्ध गरेकोमा अन्य क्षेत्रमा नदीले कटान गर्न थालेको छ।
डमौलिया गाउँको एक बस्ती नदी कटानका कारण उठिबास हुने जोखिममा पुगेको छ। नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्तीमा पस्न थालेको छ। स्थानीय राधा ओझाले जग्गा नदीले बगाएको बताए। उनले भनिन्, ‘जग्गा बगाएको छ। कसैले तटबन्धन गरेको छैन। हाम्रो बस्ती जाने भएको छ।’ धनगढीको विकट डमौलिया गाउँ शिवगंगा नदीको कटानको जोखिममा छ।
धनगढी उपमहानगरपालिकाले डमौलियाको एक नम्बर र २ नम्बर टोलमा शिवगंगाले कटान गर्दै आएको भन्दै स्थलगत प्रतिवेदन तयार पारेको छ। उपमहानगरपालिकाले २ अर्ब रुपैया तटबन्ध निर्माणका लागि आवश्यक हुने भन्दै प्रतिवेदन तयार पारेको छ। उपमहानगरपालिकाको बजेटले मात्र डमौलीया गाउँको नदी कटान रोक्न नसकिने भन्दै जनताको तटबन्ध र राष्ट्रपति चुरे मधेश संरक्षण कार्यक्रम लगायतसँग बजेट माग गरिएको छ।
धनगढी उपमहानगरपालिका–१७ का वडाध्यक्ष माधवराज रानाले २ अर्ब बजेट आवश्यक पर्ने बताए। उनले भने, २ अर्बको तटबन्ध माग गरेका छौँ। वडा नम्बर १७ मा मात्र २ अर्ब चाहिने भएको हो। हामीले माग गरेका छौँ। जनताको तटबन्ध, राष्टपति चुरे र जलउत्पन्नसँग बजेट मागेका छौ।’ शिवगंगा नदीमा पुल नहुँदा समस्या झेल्दै आएका उनीहरू नदी कटानका कारणसमेत हैरान भएका छन्।