सुदूर नेपाललाई विश्वसँग जोड्दै

साल्ट ट्रेडिङ धनगढीले इन्डक्सन चुलोसँगै त्यसमा लाग्ने भाडासमेत बिक्री गर्दै

२०८१ मंसिर १४, ०१:४४ नारायण अवस्थी

धनगढीः साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीले इन्डक्सन चुलो र त्यसमा लाग्ने भाडाँकुडाँ बिक्री गर्न थालेको छ।

यो वर्षको दशैंदेखि साल्ट ट्रेडिङले विद्युतीय चुलो र त्यसमा लाग्ने भाडाँवर्तन बिक्री गर्न थालेको हो। खाना पकाउने ग्यास र दाउराको खपत घटाउने उद्देश्यले इन्डक्सन चुलो बिक्री गर्न सुरु गरिएको छ। यो वर्षको दशैंदेखि साल्ट ट्रेडिङ प्रादेशिक कार्यालय धनगढीले विद्युतीय चुलो र त्यसमा प्रयोग हुने खाना पकाउने भाडाँ बिक्री गर्न सुरू गरेको हो।

साल्ट ट्रेडिङले बाल्ट्रा कम्पनीको दुई हजार वाटको इन्डक्सन चुलो, ५ लिटरको प्रेसर कुकर, कराई, ननस्टिक प्यान र फ्राइङप्यान बिक्रीका लागि राखेको छ। दुई हजार वाट क्षमताको इन्डक्सन चुलोको मूल्य चार हजार तोकिएको छ भने चार सेट भाडाँकुडाँको मूल्य ५ हजार ५ सय पर्ने साल्ट ट्रेडिङ कर्पोरेसन प्रादेशिक कार्यालय धनगढीका प्रमुख वासुदेव उपाध्यायले बताए।

नुनको देशैभरि आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङले रासायनिक मल तथा दैनिक उपभोग्य वस्तुको बिक्री गर्दै आएको छ। खाना पकाउने ग्यास विदेशबाट आयात हुने र महंगोसमेत पर्ने भएकाले स्वदेशमै उत्पादित बिजुली प्रयोग गरुन भनेर विद्युतीय चुलो र त्यसमा लाग्ने भाडाँकुडाँ बिक्री गर्न थालिएको उपाध्यायले बताए। चुलो मात्रै खरिद गर्न चाहने उपभोक्ताले चुलो मात्रै खरिद गर्न पाउने छन् भने भाडाँकुडाँको सेटसहित लैजान चाहने ग्राहकले सेटसहित चुलो खरिद गर्न पाउने छन्।

विद्युतमा खाना पकाउँदा धुवाँको समस्या नहुने, कम झन्झटिलो र ग्याँसको तुलनामा करिब ७/८ सय सस्तो पर्ने भएकाले विद्युतीय चुलो प्रयोग गर्नु किफायती र सजिलो हुने प्रमुख उपाध्यायले बताए। खाना पकाउन ग्याँस र दाउराको सट्टा सर्वसाधारणले समेत बिजुली प्रयोग गरून भन्ने उद्देश्यलदे साल्ट ट्रेडिङ मार्फत इन्डक्सन चुलो र त्यसमा लाग्ने चार थान भाडाँ बिक्री गर्न यो वर्षबाट सुरू गरिएको कार्यालयले जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस