अछामको चौरपाटीमा धारा निर्माणको २ वर्षसम्म पानी आएन
अछाम : अछामको चौरपाटी गाउँपालिका–१ स्थित आग्रीखोला टोलमा लिफ्ट खानेपानी आयोजना बनेको करिब दुई वर्ष बित्यो। गाउँपालिकाको बजेटमा २०७९ सालमा करिब १० लाखको लागतमा खानेपानी आयोजना बनेको हो।
टोलको माथि डाँडामा करिब एक हजार लिटरको ट्याङ्की पनि निर्माण भएको छ। टोलका केही घरका लागि चार वटा धारा पनि बने। अन्य घरमा पनि बिस्तारै धारा बनाउने तयारी थियो। तर, विद्युतका कारण अहिलेसम्म पनि बनेका ती धारामा पानी नआएको हो। वषौँदेखि पानीको समस्या भोग्दै आएका आग्रीखोलाबासी खानेपानी आउने भएपछि खुशी भएका थिए। तर, विडम्बना धारा बनेको दुई वर्ष हुँदा पनि धारामा पानी खसेन।
त्यस कारण यहाँका बासिन्दामा फेरि निराशा छाएको छ। बनेका धारा पनि भत्किने अवस्थामा पुगिसकेका छन्। सो टोलका बासिन्दा बर्खामा जेनतेन पानीको गुजारा चलाउँछन्। तर, हिउँदमा भने खानेपानीको चरम अभाव भोग्दै आएका छन्।
हिउँदमा भने खानेपानीका लागि करिब दुई किलोमिटर टाढा जानु पर्ने बाध्यता छ। अहिले पनि टाढाको दुरीमा पुगेर पिठ्युँमा पानी बोकेर ल्याउन उनीहरू बाध्य छन्। एक घर एक धारा कार्यक्रम अन्तर्गत त्यस टोलका लागि लिफ्ट खानेपानी आयोजनाबाट रिखिछडाको पानी ल्याउने योजना बनाइएको थियो।
तर, मेसिनले पानी नतानेपछि सुरुवातदेखि धारामा पानी आएको छैन। मेसिनलाई पानी तान्नको लागि विद्युतको ‘थ्री फेज’ लाइन आवश्यक छ। तर, अहिलेसम्म पनि विद्युतको ‘थ्री फेज’ लाइनका लागि पालिकाले कुनै पनि सहयोग नगर्दा त्यहाँका बासिन्दाले खानेपानी पाउन सकेका छैनन्। स्थानीय राम बहादुर साउँदले खानेपानीको धारा पुगेको दुई वर्ष बित्दा पनि पानी नआएको दुखेसो गरे। उनी धारा मात्रै बनाएर हुँदैन पानी आउनु पर्छ भन्दै सुरुदेखि नै माग गर्दै आएका थिए। तर, आयोजना सम्पन्न भयो। धारा पनि बने। पानी आएन। राम बहादुरको माग पनि सुनुवाइ भएन। दुई वर्षसम्म त्यहाँका स्थानीयले ती धारामा खानेपानी देख्न पाएका छैनन्। विभिन्न सरोकारवाला निकायलाई सो समस्याबारे जानकारी गराए पनि समाधान नभएको उनले बताए। अब सो धारामा खानेपानी आउँछ भन्ने विश्वास आफूमा नरहेको उनी सुनाउँछन्।
सो टोलमा पानीको अभावकै कारण मानिसहरूको बसाइँसराइ हुन थालेको छ। खानेपानीको समस्याले गर्दा मानिसहरू तराई लगायत अन्यत्र बसाई सर्न थालेका छन्। जति सक्दो चाँडो खानेपानी चाहिँने त्यहाँका स्थानीयको माग छ। आफूहरूलाई पालिकाले सौतेनी व्यवहार गरेको स्थानीयहरूको आरोप छ।
हुनत चुनावको बेला सबै राजनीतिक दलको नजर आग्रीखोला टोलमा हुन्छ। तर चुनाव सकिएपछि सो टोलमा न कोही नेता फर्किन्छन्। न कोही राजनीतिक दलले त्यहाँको विकासबारे आवाज उठाउँछन्। सो ठाउँलाई राजनीतिक दलले भोट बैँकको रुपमा मात्रै प्रयोग गर्दै आएका छन्।
तर, यता चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले सो खानेपानी योजना आफ्नो प्राथमिकतामा रहेको दाबी गरेका छन्। उनले मोटरका लागि ‘थ्री फेज’ लाइन आवश्यक भएको बताउँदै अबको केही समयमा त्यो ठाउँमा ‘थ्री फेज’को लाइन लिने काम थाल्ने बताए। सो विषयमा विद्युतका हाकिमसँग पनि आफूले कुरा गरिसकेको उनको भनाई छ। उनले भने, ‘मैले त्यस ठाउँमा ‘थ्री फेज’ लाइन लिनेबारे विद्युतका हाकिमसँग कुरा गरिसकेको छु। डोटेगडा हुँदै त्यस ठाउँको पानीको मुहानमा लाइन लिँदा समस्या आयो। अब सिँधै गाउँबाट आग्रीखोला ‘थ्री फेज’ लाइन लिन्छौँ। अबको पुस–माघ महिनाभित्र त्यहाँको नागरिकलाई पानी खुवाउँछु।’
उनले पानी सञ्चालनमा ल्याइसकेपछि थप धाराहरू निर्माण गरिने बताए। थप धाराहरू पनि यसै आर्थिक वर्षभित्र निर्माण गरिने उनको भनाई छ। अध्यक्ष साउँदका अनुसार विद्युतका पोल पालिकामा पुगिसकेका छन् भने तार मात्रै आउन बाँकी छ।
तारहरू आउने बित्तिकै आफूले पहिलो प्राथमिकताका साथ त्यहाँ काम गर्ने उनले बताए। उनले आफ्नो चुनावी बाचा पनि त्यो ठाउँका नागरिकलाई पानी खुवाउने रहेको बताउँदै अबको पुस–माघ महिनामै त्यहाँका बासिन्दालाई पानी खुवाउने दाबी गरे।