सुदूरपश्चिमको निजामती सेवा नियमावली संशोधन गर्न माग
धनगढीः सुदूरपश्चिम प्रदेशको निजामती सेवा नियमावली संशोधन गर्न माग गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको प्रदेश निजामती सेवा नियमावलीमा स्वास्थ्य क्षेत्रका चिकित्सकहरूले संशोधनको माग गरेका छन्।
मुख्यमन्त्री कमलबहादुर शाह र सामाजिक विकास मन्त्री मेघराज खड्कालाई ज्ञापनपत्र बुझाउदै सुदूरपश्चिम सरकारी चिकित्सक संघले सबै सेवाका चिकित्सकहरूले मेडिकल सुपरीटेन्डेन्ट हुन पाउनुपर्ने, सेती अस्पतालको ओएण्डएम सर्भे गरिनुपर्ने, सुदूरपश्चिम प्रदेशको लोकसेवा आयोगले स्वास्थ्य क्षेत्रका कर्मचारी भर्नाका लागि विज्ञापन गर्नुपर्ने लगायतका माग गरिएको छ।
सुदूरपश्चिममा जर्नल हेल्थका चिकित्सकले मात्र मेडिकल सुपरीटेन्डेन्ट हुने व्यवस्था रहेको छ। दक्षता र अग्रजको हैसियतमा अन्य स्वास्थ्य समूहका व्यक्तिले पनि मेसु हुन पाउनुपर्ने माग गरिएको सरकारी चिकित्सक संघ (जीआडीेएएन)का अध्यक्ष डाक्टर खगेन्द्रराज भट्टले बताए। उनले सेती प्रादेशिक अस्पतालमा जर्नल हेल्थबाट मात्र मेसु हुने व्यवस्था रहेको बताए।
उनले भने, ‘जर्नल हेल्थले मात्र मेसु हुने व्यवस्था छ। सिनियरले मेसु पाउनुपर्ने हो। सबै समूहकाले मेसु हुन पाउनुपर्ने भन्दै ज्ञापन बुझाएका छौ।’ नेपाल सरकारले ५० शय्याको स्वीकृत दिएको सेतीमा तीन सय शय्यामा सेवा दिने गरिएको भएपनि ओएण्डएम नभएकाले स्थायी स्वास्थ्यकर्मी तथा चिकित्सकको वृद्धि विकाससमेत रोकिएको उनीहरूले बताएका छन।
प्रदेशको रेफरल अस्पताल सेतीमा स्थायी चिकित्सकको संख्यामा वृद्धि गर्न ओएण्डएम स्वीकृत गर्नुपर्ने माग अघि सारिएको हो। भट्टले भने, ‘सेतीको ओएण्डएम अर्थ मन्त्रालयमा रोकिएको छ। ५० शय्याको स्वीकृत अस्पताल तीन सय शय्यामा सञ्चालनमा छ। ओएण्डएम स्वीकृत गरेर चिकित्सकको संख्या बढाउनुपर्छ। प्रदेश लोकसेवा आयोगलाई पनि सहज हुन्छ।’ उनले भने, ‘८ औँ र ९ औ तहको विज्ञापन गरेपछि प्रादेशिक अस्पतालमा चिकित्सकको अभाव हुँदैन। ९ औँ र १० औँ तहको बाटो पनि खुल्ला गर्न भनेका छौ।’