सुदूर नेपाललाई विश्वसँग जोड्दै

३० रुपैँयामै बिशेषज्ञ सेवा दिने सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पतालको प्रयास

२०७६ असार ७, ०६:४९ खबर संवाददाता

२०७१ सालमा कैलालीको अत्तरियामा स्थापना भएको सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पतालमा रहेको बहिरंग कक्षमा दैनिकी २० देखि ३० जना मात्रै विरामी आउँछन्। नीजि अस्पतालको त कुनै नगरौँ अन्य सरकारी अस्पतालको तुलनामा समेत सामुदायिक अस्पतालमा निकै सस्तोमा स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ तर विरामीको चाप भने छैन्। अस्पताल स्थापना भएको ५ बर्ष भईसक्दा समेत धेरैलाई अत्तरियामा सामुदायिक अस्पताल समेत रहेको विषयमा जानकारी छैन्। 

२०७१ सालमा सरकारको एक करोड ५० लाख र अन्य सामुदायिक स्तरबाट ८० लाख गरि झण्डै २ करोड ३० लाखको लगानीमा स्थापना भएको अस्पतालले अहिले पनि ३० रुपैँयामा विशेषज्ञ सेवा दिईरहेको छ। बिपन्न तथा दुर दराजका जनतालाई सस्तो र सहज रुपमा सेवा दिने उद्देश्यले सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पताल खोलिएको सञ्चालक आनन्द भट्टले जानकारी दिए। ‘३० रुपैँयाको टिकट काटेपछि स्वास्थ्य जाँच गर्न पाईन्छ।’ उनले भने, ‘अन्य चेकजाँचको लागि निकै न्यून शुल्क लगाएका छौ।’

बिपन्न समुदायका नागरिकले सामान्य स्वास्थ्य जाँचका लागि पनि ५ सय रुपैँया शुल्क तिरेर लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले अस्पताल खोलेको उनले बताए। अस्पतालले आकस्मिक सेवा, शल्यक्रिया कक्ष, प्याथोलोजी, एक्सरे, इन्डोस्कोपी, भिडियो एक्सरे, इसीजी सेवा प्रदान गर्दै आएको छ भने अस्पतालको आफ्नै फार्मेसी समेत रहेको छ। एम्बुलेन्स सेवा समेत अस्पतालले दिदै आएको छ। केही दिन भित्रै सघन उपचार कक्ष आईसियु समेत सुरु गर्ने तयारी रहेको सञ्चालक भट्टले बताए। 

अस्पतालका डक्टर बिसम्बरराज जोशीले विभिन्न समयमा आयोजना हुने स्वास्थ्य शिविर मार्फत ७० बर्षमाथिका बिरामीका लागी निशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिए। गरिब, असहाय, अशक्त व्यक्तीहरुलाई सस्तो र सहज उपचार सेवा अस्पतालले दिइरहेको भएपनि अस्पतालमा विरामीको चाप भने हुन नसकेको उनले बताए। सामुदायीक अस्पतालले २४ सै घण्टा सेवा दिइरहेको छ। 
 

कमेन्ट लोड गर्नुस