सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सरकारको सय दिनः यस्ता छन् उपलब्धि

२०८१ कार्तिक २७, ०२:२९ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार गठन भएको सय दिनको उपलब्धि सार्वजनिक गरेका छन्।

मुख्यमन्त्री शाहले मङ्गलवार पत्रकार सम्मेलन गरेर सरकारको सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन्। मुख्यमन्त्री कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले एक सय दिनको सरकारको कार्यसम्पादन सन्तोषजनक रहेको बताएका छन्। उनले शासकीय दृष्ट्रिकोणले राजनीतिक र आर्थिक पक्षमा सरकारले उपलब्धि हासिल गरेको दाबी गरेका छन्।

२०८१ साउन २१ गते मुख्यमन्त्री शाह नेतृत्वमा गठन भएको प्रदेश सरकारले  प्रदेशको समग्र वस्तुस्थितिको अध्ययन, सेवा प्रवाह, सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रणको लागि कार्यदल गठन भई १५ दिनभित्रै प्रतिवेदन प्राप्त हुनु, प्रदेश निजामती सेवा ९पहिलो संशोधन० ऐन, २०८० पारित भई कार्यान्वयनमा आउनुलाई नीतिगत उपलब्धि भएको दाबी गरेको छ।

मुख्यमन्त्री शाहले आयोजना बैंकको कार्यान्वयन सुरू गरिएको, योजना तर्जुमादेखि कार्यान्वयनसम्मको कार्यलाई मागमा आधारित बनाइएको, पर्यटन विकासको गुरुयोजना निर्माण गर्ने काम भइरहेको र एक सय दिनसम्म कुल बजेटको ८ दशमलव शून्य २ प्रतिशत र पुँजीगततर्फ ५ दशमलव ९७ प्रतिशत बजेट खर्च भएको तथ्याङ्क सार्वजनिक गरेका छन्। मुख्यमन्त्रीले एक सय दिनमा लक्ष्यको भन्दा २३ दशमलव ९४ प्रतिशत बढी बजेट खर्च भएको बताएका छन्।
सरकारले वित्तीय हस्तान्तरण बढायो
मुख्यमन्त्री शाहले विगतको तुलनमा प्रदेश सरकारले वित्तीय हस्तान्तरण बढाएको बताए। उनले आर्थिक वर्ष २०८०/८१ मा प्रदेशबाट स्थानीय तहमा दुई अर्ब ३४ करोड वित्तिय हस्तान्तरण गरिएकोमा चालु आर्थिक वर्षमा ४४ प्रतिशतले वृद्धि गरी ३ अर्ब ३८ करोड पुगाइएको बताए। प्रदेश सकारले एक सय दिनको अवधिमा १८ किलोमिटर सडक कालोपत्र तथा २७ किलोमिटर सडक ग्राभेल गरेको प्रगाति सार्वजनिक गरेको छ। यस्तै, दुईटा नयाँ पुल निर्माण भएको तथा प्रादेशिक सडक गुरूयोजनाको मस्यौदा र सडक मर्मत संभार निर्देशिका तयार भइरहेको कुरा एक सयदिने उपलब्धिमा राखेको छ।
कानून निर्माण तथा संशोधनमा प्रगति भएको दाबी
मुख्यमन्त्री शाहले प्रदेश सरकारले नीतिगत क्षेत्रमा उपलब्धि हासिल गरेको दाबी गरेका छन्। सरकारले सुदूरपश्चिम प्रदेश लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०८१ र अपाङ्गता सम्वन्धि प्रादेशिक नीति, २०८१ तयार गरेको छ।

यस्तै, प्रदेश निजामती सेवा ऐन, २०८० को पहिलो संशोधन गरेको, सुदूरपश्चिम प्रदेश आर्थिक ऐन र विनियोज ऐन २०८१, ल्याएको, सामयिक राजस्व संकलन सम्वन्धी ऐन, २०८१ ल्याएको तथा प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ लाई सशोधन गरी नीतिगत सुधारको काम भएको बताएको छ। सरकारले प्रदेश निजामती सेवा नियमावली, २०८१ को मस्यौदा निर्माण गरेको विषयलाई सय दिने उपलब्धिमा समेटेको छ।
भौतिक पूर्वाधारमा भएको प्रगति यस्तो छ
सय दिनमा प्रदेश सरकारले १८ दशमलव ५ किलोमिटर सडक कालोपत्र तथा २७ किलोमिटर सडक ग्राभेल भएको जनाएको छ। यसैगरी दुई वटा सडक पुल, एक सडक पुल निर्माण गर्न वोलपत्र खोलेको, झोलुङ्गे पुल निर्माण गर्न १६ हजार मिटर लट्ठा खरिद गरिएको तथा ३० झोलुङ्गे पुल निर्माण गर्न स्थानीय तहलाई परामर्श सेवा दिइएको छ। सरकारले ८ वटा खानेपानी योजना सम्पन्न भई ८९६ घरधुरीमा धारा जडान भएको तथा दुईटा कभर्डहल निर्माणको काम सम्पन्न गरेको प्रगति विवरण सार्वजनिक गरेको छ।
कृषि क्षेत्रमा केके भए उपब्धि?
प्रदेश सरकारले एक सय दिनमा कृषि क्षेत्रमा उल्लेख्य काम भएको दाबी गरेको छ। एक सय दिनको अवधिमा बाजुराको मार्तडी, अछामको साँफेबगर र कैलालीको गोदावरीमा कोल्ड चेम्बर निर्माण भएको विवरण सार्वजनिक गरेको छ। यसैगरी ६१० हेक्टर क्षेत्रफलमा गहुँ तथा दलहन बालीको बिउ उत्पादन कार्यक्रम चलाएको, ३० वटा कृषक पाठशाला चलाएको, ५६५ हेक्टर जग्गामा व्यवसायिक आलु तथा तरकारी खेती विस्तार गरेको विवरण सरकारले सार्वजनिक गरेको छ।

प्रदेश सरकारले च्याउ बिउ प्रयोगशाला मार्फत १० दशमलव ८ टन च्याउको बिउ उत्पादन गरिएको, दुई हजार ५ सय तरल नाइट्रोज उत्पादन गरेर गाई, भैंसी र बाख्रामा कृत्रिम गर्धाधान सेवा पुगाउन सहयोग पुगाएको बताएको छ। प्रदेश सरकारले एक सय दिनको अन्तरालमा  पशुसेवा विज्ञ केन्द्र मार्फत २० हजार पशुपन्छीको उपचार गरेको, ४ हजार २५० मा कृत्रिम गर्भाधान गरेको, २ हजार ८६७ पशुलाई प्रयोगशाला सेवा दिएको, एक लखा ३७ हजार १५० पशुलाई खोरेत विरुद्धको खोप लगाएको, २५ हजारलाई लम्पी स्किन र १५ हजार ७५० कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको तथ्याङ्क सार्वजनिक गरेको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस