सर्वोदय माविमा लेखापाल नियुक्तिको विषयमा सतर्कता केन्द्रले पठायो पत्र
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारीको सर्वोदय माध्यमिक विद्यालयलमा लेखापाल भर्नाको विषयमा अख्तियारपछि राष्ट्रिय सतर्कता केन्द्रले पनि पत्र पठाएको छ।
विद्यालयमा अवैध किसिमले लेखापाल भर्ना गरेको विषयमा अख्तियारले गत भदौमा पत्र पठाएको थियो। विद्यालयले अख्तियारको पत्रको जवाफ नलेख्दै राष्ट्रिय सतर्कता केन्द्रले समेत पत्र पठाएको हो। २०७० जेठ २९ गते लेखापाल भर्ना गर्न सार्वजनिक सूचना निकालेको विद्यालयले परीक्षा नलिएरै सन्देश सिकेलाई लेखापालमा नियुक्त गरेको विषयमा अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो।
तत्कालिन विद्यालय व्यवस्थापन समितिले लेखापाल नियुक्तिमा कैफियत गरेको भए पनि वर्तमान व्यवस्थापन समितिले लेखापाल सिकेलाई संरक्षण गर्न खोजेको आरोप छ। लेखापाल नियुक्तिको छानबिन र आवश्यक कारबाही गर्नुपर्ने विद्यालय व्यवस्थापन समितिले लेखापाल सिकेले दिएको राजीनामासमेत स्वीकृत गरेको छैन। व्यावस्थापन समितिले प्रधानाध्यापकले दिएको राजीनामा भने स्वीकृत गरिसकेको छ।
सूचना निकालेर परीक्षा नै नगरी आवेदकहरुको उपेक्षा गर्दै ११ वर्ष अगाडि लेखापाल नियुक्त गरिएकाले सर्वोदय माध्यमिक विद्यालय अहिले विवादित र प्रधानाध्यापक बिहिन भएको छ। २०७० जेठ २९ गते लेखापाल भर्ना गर्न सार्वजनिक सूचना निकालेर तीन जनाको आवेदन बुझेर परीक्षा नै नगरी गैर उम्मेदवारलाई लेखापाल नियुक्त गरेको विषयमा धनगढी–१४ बी गाउँको सर्वोदय माध्यमिक विद्यालय विवादित बनेको हो।
वाणिज्य शास्त्रमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको न्यूनतम योग्यता भएको योग्यता तोकेर विद्यालयले ११ वर्ष अगाडि लेखापालको विज्ञापन गरेको थियो। विज्ञापन अनुसार फूलबारीकै खेमराज भट्ट, दयाशंकर चौधरी र नवराज जोशीले दरखास्त दिएका थिए। उनीहरूले विद्यालयले तोकेको जनही एक हजार दस्तुर तिरेर दर्खास्त बुझाएका थिए।
तर दारखास्त दिने तीनै जनालाई थाहै नदिई तत्कालिन विद्यालय व्यवस्थापन समितिले सन्देश सिकेलाई लेखापालमा नियुक्त गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले विद्यालयमा पत्र पठाएका हुन्। तर, अख्तियारले पत्र पठाएको दुई महिना पूरा हुँदा पनि लेखापाल नियुक्तिको विषयमा विद्यालयले कुनै जवाफ पठाएको छैन।
यसैबिच विद्यालयको प्रधानाध्यापक पदबाट शिक्षक जितबहादुर चौधरीले दिएको राजीनामा भने विद्यालय व्यवस्थापन समितिले गरेको अध्यक्ष जगदीश चौधरीले बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरीले लेखापाल सिकेको संरक्षण गरेको आरोप लागेको छ। अध्यक्ष चौधरीले राजनीतिक आस्थाका कारण लेखापाललाई संरक्षण गरेको स्थानीयको दाबी छ। स्थानीयले लगाएको आरोप पुष्टि हुने काम अध्यक्ष चौधरीले व्यवहारमै देखाएका छन्।
अध्यक्ष चौधरीले प्रधानाध्यापक पदबाट शिक्षक जितबहादुर चौधरीले दिएको राजीनामा असोज २९ गते स्वीकृत गरेका छन् भने लेखापाल सिकेले दिएको राजीनामा भने स्वीकृत गरेका छैनन्। लेखापालको संरक्षण गर्ने विद्यालय व्यवस्थापन समितिको मनसायलाई समर्थन दिन प्रधानाध्यापक चौधरी तयार नभएकालेउनले राजीनामा दिएको स्थानीयको दाबी छ। तर आफ्नो स्वास्थ्यको कारण राजीनामा दिएको शिक्षक चौधरीले बताए।
परीक्षा नै जलिएर न्यूनतम योग्यता समेत नपुगेका सिकेलाई राजनीतिक संरक्षण मिलेको स्थानीयले भनाइ छ। जसका कारण लेखापाल सिकेको नियुक्तिमा त्रुटि हुँदाहुँदै र राजीनामा आउँदा समेत व्यवस्थापन समितिले स्वीकृत नगरेको स्थानीयले बताएका छन्। तर विद्यालय व्यवस्थापन समितिले भने लेखापालको संरक्षण नगरेको दाबी गरेको छ।
अख्तियार र सतर्कता केन्द्रले पठाएको पत्रको जवाफ छानविन गरेर पठाउने अध्यक्ष चौधरीले बताएका छन्। यसअघि लेखापालको नियुक्तिको विषयमा कुनै कुरा थाहा नभएको बताउने व्यवस्थापन समितिका अध्यक्ष जगदिश चौधरी र लेखापाल सिकेको राजनीतिक आस्था मिलेकाले सिकेको नियुक्ति वैधानिक र नियमसंगत देखाउने कसरतका अध्यक्ष चौधरी लागेको स्थानीयको आरोप छ। अध्यक्ष चौधरीले भने निष्पक्ष छानविन गर्ने बताएका छन्।