सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मसानी देवताको मन्दिर निर्माणका लागि सरकारको दोहोरो बजेट, विदेशबाट पनि चन्दा संकलन

२०७६ असार ७, ०४:४५ खबर संवाददाता

बैतडीमा मसानी देवताको मन्दिर निर्माणका लागि दुई वटा सरकारले बजेट विनियोजन गरेपनि अपुग भएको भन्दै विदेशबाट चन्दा संकलन गरेको भेटिएको छ। जिल्लाको सुर्नाया गाउँपालिका वडा नम्वर ५ मा चैनराज देउवताको मन्दिर निर्माणका लागि गत बर्ष स्थानीय र चालु बर्षमा प्रदेश सरकारले बजेट विनियोजन गरेका छन्। गत बर्ष सुर्नाया गाउँपालिकाले मन्दिर निर्माणका लागि ५ लाख सकेकोमा चालु बर्षमा प्रदेश सरकारले मन्दिर निर्माणकै लागि थप ४ लाख ७५ हजार विनियोजन गरेको छ।

तर मसानी देवता (चनैराज) को मन्दिर निर्माणका लागि २ वटा सरकारले विनियोजन गरेको बजेट अपुग भएको भन्दै विदेशबाट समेत चन्दा संकलन गरिएको छ। भारत, मलेसीया लगायतका देशमा रहेका नेपालीबाट ६ लाख ५० हजार संकलन गरिएकोमा अन्य स्थानबाट गरी झण्डै २० लाख चन्दा संकलन भएको वडा नम्वर ५ का अध्यक्ष केशवसिंह मडैले बताए। 

दुई वटा सरकारले मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेपनि अपुग भएको भन्दै मजदुरीका लागि विदेश गएकाबाट समेत चन्दा संकलन गरिएपछि झण्डै ३० लाख बजेट एउटा मन्दिर निर्माणका लागि लाग्ने देखिएको छ। तर केही स्थानीयले भने आधा भन्दा बढि बजेट दुरुपयोग भईरहेको आरोप लगाएका छन्। प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका नाममा उक्त मन्दिरमा बजेट विनियोजन गरेको जनाएको छ। तर कुनै एक समुदायको मसानी देवताको मन्दिर निर्माण गरेर पर्यटक जानेमा भने आशंका व्यक्त गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस